नेपालगन्ज:प्रहरीले अछाम र प्युठानबाट भरुवा बन्दुकसहित ३ जनालाई पक्राउ गरेकोछ । प्रहरीले अछामबाट २ जना र प्युठानबाट १ जना गरि ३ जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
अछामको प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा १ थान भरुवा बन्दुकसहित जगतबहादुर साउद र लाल बहादुर साउदलाई सोमबार राति पक्राउ गरेको हो ।
अछामको रामारोशन गाउँपालिका–६ पुदुबाट सोही गाउँपालिकाको भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर साउदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै भरुवा बन्दुकसहित प्युठानबाट ६४ वर्षीय सुकराम पुन मगरलाई प्रहरीले पक्रेकोछ ।
प्युठान सरुमारानी गाउँपालिका–६, पाङवाङ बस्ने मगरलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने छर्रा १४ थान र फलामको टुक्रा १ थान सहित सोमबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बड्डाँडा प्रहरी चौकीका अनुसार पक्राउ परेका सुकरामले लेनदेनको विवादमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर राना मगरलाई भरुवा बन्दुक सहित घरमा गई बन्दुक ताकेको सूचना पाएपछि उनलाई पक्रेको हो ।