नेपाल फर्केर श्रृंखलाले भनिन्, ‘ताज नजिते पनि सबैको माया जितेँ’


नेपाल फर्केर श्रृंखलाले भनिन्, ‘ताज नजिते पनि सबैको माया जितेँ’

चीनको सान्यामा आयोजिम मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको बताइन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रृंखलाले भनिन्, ‘मेरो प्रमुख उद्देश्य नेपाललाई चिनाउनु थियो, त्यसमा केही हदसम्म सफल भएँ जस्तो लाग्छ ।’

आफूलाई ब्यूटी विथ द प्रपोज अवार्डप्रति सुरुदेखि झुकाव भएको भन्दै उनले यो अवार्ड जित्दा मिस वर्ल्ड नै जितेको जस्तो अनुभूति भएको श्रृंखलाले बताइन् । यस्तै सम्पूर्ण नेपालीहरुको सहयोग र मायाले मल्टिमिडिया अवार्ड जितेको भन्दै उनले आभार व्यक्त गरिन् ।

‘सम्पूर्ण नेपालीहरुको यति धेरै माया र साथ पाएँ कि त्यसको अनुभूति शब्दमा वर्णन गर्न सक्दिनँ । मैले आशै नगरेको माया पाएँ । मेरो पक्षमा आएको भोटको लहरले अरु साथीहरु अचम्भित हून्थे । म एकदमै ऋणी छु,’ श्रृंखलाले भावुक बन्दै भनिन् ।

Kanti Aarogya Hospital Nepalgunj

टप १२ मा पुग्दा कस्तो महसुस भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘म टप १२ मा पुग्छु भनेर त कन्फिडेन्स नै थिएँ । त्यसैले अचम्म लागेन । सहजरुपमा लिएँ ।’

त्यसो त उनले टप ५ मा पुग्ने पनि आशा राखेकी थिइन् । तर, सफल भइनन् । यसमा उनी भन्छिन्, ‘हो, मैले दुई वटा महत्वपूर्ण अवार्ड जितिसकेको अवस्थामा टप ५ मा पुग्नुपर्ने थियो । के कारणले हो पुग्न सकिनँ ।’ उनले निर्णायकहरुको मतमाथि प्रश्न नउठाउने बताइन् ।

यसपाली मिस वर्ल्डको फर्म्याट परिवर्तनको कारणले पनि आफूलाई असर परेको उनले बताइन् । यसपाली पाँच महादेशबाट प्रतिनिधित्व हुने गरी टप ५ को घोषणा गरिएको थियो ।

‘एसियाबाट प्रतिस्पर्धा कडा थियो, त्यसैले मलाई असर पर्‍यो,’ उनले भनिन् ।

आफू टप १२ बाट आउट भएपछि अन्य प्रतियोगीहरुसमेत स्तब्ध बनेको श्रृंखलाले बताइन् । ‘मलाई धेरै जना प्रतिस्पर्धीले आएर भन्नुभयो कि तिमी नै मिस वर्ल्डको हकदार थियौ, दुई-तीन जना रुनु पनि भयो । जे होस् मैले आफ्नो तर्फबाट सत्प्रतिशत प्रयास गरेकी हुँ । तर, रिजल्ट मेरो हातमा थिएन ।’

श्रृंखलाले नेपालीहरुले अपेक्षा गरे बमोजिम नतिजा ल्याउन नसकेकोमा आफू दुखित बनेको बताएकी छन् ।

उनले अगाडि थपिन्, ‘नेपालको बारेमा अरु देशका प्रतियोगीहरुलाई कम ज्ञान थियो । मैले माउन्ट एभरेस्टको कुरा गर्दा उहाँहरु सोध्नु हुन्थ्यो- तिमीले माउन्ट एभरेस्ट चढिसक्यौ ? अनि नेपालबाट हरेक प्रतिस्पर्धीहरुलाई लभ फ्रम नेपाल भन्दै म्यासेज जाँदो रहेछ । मलाई सोध्नुहुन्थ्यो, के नेपालमा अरबौं जनसंख्या छ ? के नेपाल इन्डियाभन्दा ठूलो छ ? नत्र कसरी यत्रो भोट पायौ ? मैले पाएको समर्थन उहाँहरुका लागि पनि आश्चर्यजनक थियो ।

‘मेरो परिचयात्मक भिडियो हेरेपछि नेपालबारे धेरैले थाहा पाउनुभयो । ब्यूटी विथ प्रपोजको भिडियो हेरेपछि सो प्रोजेक्टमा धेरैले सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभएको छ । नेपाल आउने इच्छा पनि धेरैको छ ।’