नेपालगन्ज ८ चैत्र : बढ्दो बेरोजगारी समस्याका कारण देशका लागि काम गर्ने रहर धेरैको हुन्छ, तर कोही उमेरका कारण प्रहरीमा भर्ना हुन पाउँदैनन्, कोही छनोटमा पर्दै पर्दैनन् उनीहरूका लागि म्यादी प्रहरी एउटा अवसर जस्तै हो ।
अझ म्यादी प्रहरीमा युवाको बढ्दो आकर्षणले देशमा बेरोजगारीको अवस्थालाई पनि उजागर गरिदिएको छ । एकातिर सिहंदरबार र जनप्रतिनिधी आएपछि आमूल परिर्वतन भएको डम्फू पिट्नेहरुका लागि बेरोजगारी र अभावमा थलिएका युवाको पंक्तिले देशको अवस्था छताछुल्ल पारिदिएकोछ ।
म्यादी प्रहरीका लागि लाइनबद्ध भएका युवाको भीड हेर्दा देशमा रोजगारी सिर्जना भएको भए आज धेरै समस्या समाधान हुने रहेछ भन्ने प्रमाणित गरेकोछ । म्यादी प्रहरीका लागि लामबद्ध यी युवाहरुको भीडले मुलुकमा बेरोजगारीको डरलाग्दो दृश्य पनि देखाइरहेको छ ।
कोही जागिर नभेटेपछि बाध्यताले बेरोजगार भएकाहरु, कोही घरपरिवार चलाउन, छोराछोरी पढाउन त कोही यही अनुभवले पछि पनि काम गर्ला कि भन्ने लागेर आएका थिए । यही समस्या समाधानका लागि यसअघि निर्वाचन भएको थियो तर, विडम्बना बेरोजगारीको समस्या न सम्बोधन भयो न कम नै हुन सक्यो ।
यही कुरालाई पुष्टि गरिरहेको थियो म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु जो थिए स्नाकोत्तर उर्तीण गरेकादेखि बिभिन्न सीपमुलक तालिम लिएकासम्मका युवा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्ष्य
गरी नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको लागि भर्ना खुलाएको छ ।
म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समयमा आवेदन दिन सकिने प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । सोही सूचनाका आधारमा प्रहरीले आईतबारबाट बाँकेसहित देशभर भर्नाका लागि दरखास्त लिन शुरु गरेकोछ ।
यसका लागि आवेदन सबै जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ । १८ वर्ष पुरा भएका ५४ वर्ष ननाघेका नागरिकले म्यादीमा आवेदन दिन सक्नेछन् । तर, म्यादी प्रहरी र भूतपूर्व सुरक्षाकर्मीले प्राथमिकता पाउने छन् ।
छनोट भइसकेकालाई एक साता तालिम दिएर खटाइनेछ । यही चैत्र १५ गतेबाट म्यादी प्रहरी छनोट शुरु हुनेछ । यसको अन्तिम नतिजा चैत्र २२ गते प्रकाशन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनोट हुनेलाई चैत्र २८ गतेबाट प्रशिक्षण दिइने छ ।
निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यावधि बढीमा ४० दिनको तोकिएको छ भने उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह अर्थात् आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ ।
४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ तथा खाद्यान्न बापत ७ हजार २ सय, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार गरी कुल ४४ हजार ४ सय ४० रुपैयाँ प्राप्त गर्नेछन् । यसरी थोरै समय भएपनि रोजगार बन्न पाउने आशाले पनि यतिबेला बाँकेसहित देशभर म्यादी प्रहरीमा भर्ना हुन चाहनेको संख्या उच्च छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँकेमा १३६ वटा मतदान केन्द्र र करिब ६९ किमि खुला सीमामा सुरक्षाका लागि आवश्यक जनशक्ति पुरा गर्न म्यादी प्रहरी भर्ना गर्न लागेको बताए ।
उनले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीमा भर्ना हुन पाउने बताए । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।
अधिकारीले बाँके जिल्लाका लागि एक हजार ६८६ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी रहेको बताए । तर, भर्ना खुला भएका पहिलो दिन आईतबार नै एक हजार जनाले फर्म भरेका छन् । फर्म भर्नेको धेरै भीड रहेकाले सबैको दर्ता गर्न नसकिएको बाँके प्रहरीले बताएको छ । उनीहरुको सोमबार (आज) दर्ता हुने प्रहरीले बताएको छ ।
बाँकेका सबै स्थानीय तहबाट युवाहरु म्यादी प्रहरीमा भर्ना हुन आएका थिए । उनीहरुको लाईन जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गण बाहिरसम्मको सडकसम्म रहेको थियो । यसले युवा बेरोजगारीको समस्या अझैं ज्यूँका त्यूँ रहेको पुष्टि गरेकोछ ।