File Photo
नेपालगन्ज १० चैत्र : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता आजबाट नेपालगन्जमा शुरु भएकोछ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र भइरहेको उक्त प्रतियोगितामा दुई भारतीयसहित कुल ६ वटा टिमले सहभागीता जनाएकाछन् ।
यसपटक प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहेकोछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् । भारतबाट आउने दुवै टिम पहिलो पटक पिएम कपमा सहभागिता जनाउँदैछन् ।
महिला भलिबलमा एक दशकदेखि एकछत्र प्रभुत्व कायम गरेको विभागीय टिम एपीएफले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल तीनपटक जितेको छ । तर, आजदेखि शुरु भएको आठौं संस्करणमा साविक विजेता एपीएफ सहभागी हुन सकेन । प्रधानमन्त्री कपको दोस्रो, पाँचौं र सातौं संस्करणमा एपीएफ च्याम्पियन बनिसकेकोछ ।
एपीएफका अधिकांश मुख्य खेलाडी चोटग्रस्त बनेपछि च्याम्पियन टोली नै प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।
अध्यक्ष ठकुरीका अनुसार एपीएफका सिनियर टिमका पाँच जना खेलाडी चोटग्रस्त रहेकाछन् । उनले भने हामीलाई प्राप्त खबर अनुसार एपीएफका मुख्य खेलाडी सरस्वती चौधरी एसीएल शल्यक्रियापछि फिजियोथेरापी गरिरहेकी छिन् । उषा विष्ट गोलीगाँठाको चोटबाट मुक्त हुँदैछिन् । भेट्रान कप्तान विनिता बुढाथोकी र युवा स्पाइकर निरुता ठगुन्ना पनि पूर्णरूपमा फिट नभएको र पूजा चौधरी आन्तरिक तालिममा रहेकाले यसपटक साविक विजेता एपीएफ प्रतियोगितामा सहभागिता जनाउन सकेन ।
आयोजकका अनुसार हरेक दिन दुई खेल सञ्चालन गरिनेछ । आज पहिलो खेल नेपाल पुलिस विरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यू डायमण्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ । प्रत्येक दिन खेल मध्यान्ह १२ बजे देखि हुनेछ ।
आयोजकका अनुसार नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इण्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।