नेपालगन्ज: प्रहरीकै कारण नागरिकले स्वास्थ्य सेवा लिनबाट बञ्चित भएकाछन् । स्वास्थ्य चौकीसगैं प्रहरी कार्यलय राखिँदा लामो समयदेखि सेवाग्राही सेवाबाट बञ्चित भएका हुन् । जसका कारण स्वास्थ्य सेवा प्रभावित हुनुका साथै सेवा लिन आउनेहरुको संख्यामा पनि दिनहुँ कमि आएको पाइएकोछ ।
बाँकेको जानकी गाँउपालिका वडा नम्बर–६, साविक गनापुरको पिप्रहवामा रहेको स्वास्थ्य चौकीको सेवा प्रहरी चौकीका कारण प्रभावित भएको स्थानीयले गुनासो गरेपछि यस्तो कुरा बाहिर आएको हो ।
प्रहरी चौकीका कारण स्वास्थ्य सेवा प्रभावित भएपछि प्रहरी चौकीलाई अन्यत्र सार्न समेत स्थानीयले माग गरेकाछन् । स्वास्थ्य चौकीमा सञ्चालित प्रसुती केन्द्रको सामुन्ने प्रहरी चौकी भएका कारण लाज मानेरै कयौ महिला स्वास्थ्यचौकी नआउने गरेको स्थानीयले गुनासो समेत गरेकाछन् ।
सोमबार जानकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा हातेमालो सञ्चार समूहको सहजिकरणमा आयोजित गनापुर स्वास्थ्य चौकीको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि सेवाग्राहीले यस्तो गुनासो गरेका हुन् ।
गनापुर स्वास्थ्य चौकी प्रमुख आरती थारुले सार्वजनिक सुनुवाईमा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सेवाग्राहीले उठाएको सवाल जायज रहेको बताइन् । उनले विशेषगरि मधेसी समुदायका महिलाहरु स्वास्थ्य सेवा लिन आउदाँ लज्जित हुनु, हिनताबोध भइ सेवा नै लिन आउन नमान्ने गरेको बताइन् ।
स्वास्थ्य चौकीसगैं प्रहरी चौकी छ । प्रहरी चौकीमा आउने सर्वसाधरणको भीड र कोलाहलले सेवाग्राहीहरु प्रभावित हुदै आएका छन् । विशेष गरि महिला तथा किशोरीहरु स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनुपरेको पाइएपछि स्थानीयले प्रहरी चौकीलाई अन्यत्र सार्न माग गरे । कार्यक्रममा सहभागि स्थानीयले कि त स्वास्थ्य चौकी रहनुप¥यो कि प्रहरी चौकी । दुवैलाई एकै ठाँउ राख्दा प्रसुती सेवा लिनबाट महिलाहरु बञ्चित हुनुपरेको बताए ।
सार्वजनिक सुनुवाईमा प्रहरी चौकीका कारण महिलाहरु स्वास्थ्य सेवा लिनबाट बञ्चित भएको गुनासो आएपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुरेश यादवले प्रहरी चौकीलाई छिटै अन्यत्र व्यवस्थापन गर्ने बताए । उनले सुत्केरी हुन आउने महिलाले समस्या झेल्नु परेको स्वीकार गर्दै आगामी आर्थिक वर्षमै स्वास्थ्य चौकीको प्रांगणबाट प्रहरी चौकीलाई अन्यत्र व्यवस्थापन गरिने प्रतिबद्धता जनाए ।
स्वास्थ्य चौकी र प्रहरी चौकी दुई अलग निकाय हुन् । यीनका कार्यक्षेत्र र काम गर्ने शैली फरक हुन्छ । केही हदसम्म एकअर्काका परिपुरक देखिने भए पनि प्रहरी चौकी र स्वास्थ्य चौकीको लक्ष्य र उद्देश्य फरक–फरक हुन्छ । तर, दुवै निकायसगैं रहदाँ ब्यक्तिको गोपनियता भङ्ग हुनेभएपछि सेवाग्राही सेवा लिनबाट बञ्चित हुुनु परेको हो ।
गनापुर स्वास्थ्य चौकीमा आयोजित सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनवाईले स्वास्थ्य चौकीको प्रांगणबाट प्रहरी चौकीलाई स्थानान्तरण गर्ने, खोप केन्द्र क्लिनिकलाई व्यवस्थित गर्ने लगायतका पाँच बँुदे प्रतिबद्धता समेत गरिएकोछ ।