स्थानीय तह निर्वाचन

बाँकेमा छ्यापछ्याप्ती हतियार, जनतासँगको हतियारले चुनावमा कति खतरा ?


बाँकेमा छ्यापछ्याप्ती हतियार, जनतासँगको हतियारले चुनावमा कति खतरा ?

नेपालगन्ज २० चैत्र : स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत प्राप्त हतियार फिर्ता गर्न सार्वजनिक सूचना जारी गरिसकेकोछ ।

हरेक निर्वाचनको समयमा लाइसेन्स प्राप्त हतियार फिर्ता गर्न आह्वान गर्ने गरिन्छ । कतिपयले फिर्ता गर्छन् भने कतिपयले प्रशासनको निर्देशनलाई अवेज्ञा गर्छन् । यो पटक पनि बाँके प्रशासनले इजाजत प्राप्त हतियार चैत्र ३० गतेभित्र बुझाउन निर्देशन दिइसकेकोछ ।

निर्वाचनलाई स्वच्छ, भयरहित र सुरक्षितरुपमा गराउन लाइसेन्स प्राप्त हतियारहरू चुनावभरिका लागि जफत गर्न बाँके प्रशासनले निर्देशन दिएको हो ।

निर्वाचन पर्यवक्षक समिति, नियोकका सदस्य एबम अधिवक्ता वसन्त गौतमका अनुसार चुनावका बेला लाइसेन्सधारी (इजाजत प्राप्त) हतियारले खतरा निम्त्याउन सक्नेछ ।

Kanti Aarogya Hospital Nepalgunj

इजाजत प्राप्त हतियार प्रदर्शन गरेर मतदातालाई प्रभावमा पार्नसक्ने सम्भवना रहने भएकाले प्रशासनले खोजेर भएपनि त्यस्ता हतियार जफत गर्नुपर्ने हुन्छ ।

‘निर्वाचनमा शक्तिको प्रयोग, अनुचित प्रभावमा इजाजत प्राप्त हतियार प्रयोग हुनसक्छ’ नियोकका सदस्य एबम अधिवक्ता गौतमले भने–‘निर्वाचनलाई स्वच्छ, भयरहित र सुरक्षितरुपमा गराउने संकल्प लिएको निर्वाचन आयोगको संकल्प समेत प्रभावित बन्न सक्छ ।’

‘एकातिर सुरक्षा थ्रेट हुनेनै भयो भने अर्कोतर्फ मतदातालाई प्रभावित पार्न सकिने हुन्छ’, गौतमले भने ‘लाइसेन्स प्राप्त हतियारबाट ठूलो सुरक्षा चुनौति नभएपनि सम्भावित घटनालाई नजरअन्दाज गर्न मिल्दैन, त्यसैले हतियार फिर्ता लिनुपर्छ ।’

अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत इजाजत प्राप्त हतियार पहिचान गरि नियन्त्रणमा लिनुपर्ने बताउँछन् ।

‘स्वच्छ, भयरहित र सुरक्षितरुपमा निर्वाचन सम्पन्न गर्नका लागि प्रशासनले यसमा कडाइका साथ लाग्नुपर्छ’, इन्सेक संयोजक महतले भने–‘विस्तृत शान्ति सम्झौतामा हातहतियार र बमबारुद्ध जहाँ राखेकोछ सोको जानकारी गराएर डिस्पोज गर्ने भनिएको छ, तर त्यसो हुन सकेन ।’

विस्तृत शान्ति सम्झौता अनुसार हातहतियार र बमबारुद्ध डिस्पोज नगरिएकै कारण देशमा विस्फोट हुँदा घाईते र मृत्यु भइरहेको इन्सेक संयोजक महतको भनाइछ ।

‘चुनावमा सबै व्यक्ति आवेगमा हुन्छन्, सानो विवादले पनि ठूलो रुप लिन सक्ने भएकाले फिर्ता लिनुपर्छ,’ महतले अगाडी थपे–‘हतियारधारीले विवेक गुमाउन सक्छ, मतदाता डराउँछन्, गलत ठाँउमा प्रयोग हुनसक्छ र चुनाव प्रभावित बन्छ ।’

सीमावर्ती जिल्लामा हुनसक्ने अपराध र हतियारको दुरुपयोगमा स्थानीय प्रशासन गम्भीर भएर लाग्नुपर्छ, इजाजत प्राप्त मात्र नभएर अबैध हतियार नियन्त्रणमा लिनुपर्छ ।

त्यसो त लाइसेन्स प्राप्त हतियार प्रयोग गरेर भएका केही घटना र लाइसेन्स लिएका केही व्यक्तिहरुको पृष्ठभूमि हेर्ने हो भने चुनावमा दुरुपयोग नहोला भन्न पनि सकिन्न ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी इजाजत प्राप्त हतियारले सुरक्षा जोखिम रहने बताउँछन् ।

‘ब्यक्तिको खतरालाई हेरेर इजाजत प्राप्त हतियार राख्न पाउने ब्यवस्था छ, तर इजाजत प्राप्त हतियारले सुरक्षा जोखिम हुन्छ ।’ सेतोखरीसंग कुार गर्दै बाँके प्रहरी प्रमुख अधिकारीले भने–‘ब्यक्तिगत रिसिवी, राजनीतिक आवेगका कारण इजाजत प्राप्त हतियार दुरुपयोग हुनसक्छ, यो स्वभाविक हो ।’

‘चुनावलाई मध्यनजर गर्दै आफूसंग भएको हतियार बुझाउन भनेकाछौं, अटेरी गर्ने व्यक्तिको हातहतियार खोजतलास गरी कानून बमोजिम कारबाही गर्नेछौं’, बाँके प्रहरी प्रमुख अधिकारीले भने ।

बाँकेका ८ पालिकामा कायम गरिएका १३६ मतदान स्थलमध्ये ११२ मतदान स्थल अति संवेदनशील र २४ वटा मतदान स्थललाई संवेदनशील तोकिएको छ ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि जिल्लाको सुरक्षा प्रहरी नियन्त्रणमा रहेकोछ ।

मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीतिसहित अघि बढेको उनले बताए ।
उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

निर्वाचन लक्षित जिल्लाको सुरक्षालाई लिएर बाँके प्रहरी ‘हाई अलर्ट’मा रहेकोछ । यसका लागि ७५ जनाको रिजर्भ फोर्स २४ सै घण्टा ‘हाई अलर्ट’मा रहनेछ । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरमा २५–२५ जना गरी ७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिनेछ । यसका अलावा निर्वाचन अवधिमा नेपाल–भारतका
सुरक्षाकर्मीको संयुक्त गस्ती हुनेछ । बाँकेको ६५ किलोमिटर भू–भाग भारतसँग खुला सीमा जोडिएको छ ।

यता स्थानीय तहको निर्वाचन भयरहित र विश्वसनीय बनाउन भन्दै वैध तथा अवैध हातहतियार बझुाउन निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

‘गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिसकेका छौं’ प्रजिअ खत्रीले भने–‘इजाजत प्राप्त र बिना इजाजतका हातहतियार नजिकैको प्रहरी ईकाइहरुमा चैत्र मसान्तभित्र स्वतःस्फूर्त रूपमा बुझाउन निर्देशन दिएका छौं ।’

प्रजिअ खत्रीका अनुसार निर्धारित समयभित्र हतियार नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानून बमोजिम कारबाही गरिनेछ ।

‘हामीले सूचना जारी गरि आफूलाई पाएक पर्ने प्रहरी मातहतका कुनै पनि इकाइमा बुझाउन आग्रह गरेकाछौं,’ सेतोखरीसंग कुरा गर्दै प्रजिअ खत्रीले अगाडी थपे–‘निर्वाचनका समयमा वैद्य तथा अवैद्य हतियारको दुरुपयोग हुनसक्छ । त्यही अनुसार सूचना सर्कुलर गरेकाछौं । समय अवधिभित्र नबुझाएको भेटिए कारबाही गरिनेछ ।’

‘निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन वैध र अवैध सबै प्रकारका हतियार सूचना जारी गर्दै बुझाउन लगाइएको छ’ प्रजिअ खत्रीले सेतोखरीलाई भने ‘इजाजत प्राप्त हातहतियार स्थानीय तहको निर्वाचनपछि इजाजत प्राप्त ब्यक्तिलाई फिर्ता गरिने छ ।’

त्यसो त बाँके प्रहरीको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको विगविगी भएको देखाउँछ । लुटपाट, हत्या, बन्धक, धम्की लगायतका घटनामा यस्ता साना हातहतियार बढि प्रयोग हुने गर्छ ।

बोक्न, लुकाउन तथा सहजै रुपमा उपलब्ध हुने भएकाले पनि यस्ता हतियार अपराधमा बढि प्रयोग हुन्छ । बाँके प्रहरीको पछिल्लो ६ महिनाको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको त्रास कायमै रहेको देखाउँछ । बाँके प्रहरीका अनुसार पछिल्लो ६ महिनामा ५ थान बन्दुक बरामद गरिएकोछ । वितेको ६ महिनाको अवधीमा बाँकेबाट ३ थान कटुवा पेस्तोल, एक थान एयरपेस्तोल, एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने ३ वटा छर्रासहित ४ जनालाई बाँके प्रहरीले पक्राउ गरि कारबाही गरेकोछ । यही अवधिमा गत वर्ष बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद भएको बाँके प्रहरीले जनाएकोछ ।

थप समाचार

चैत्र ३० गतेभित्र हातहतियार बुझाउन बाँके प्रशासनको निर्देशन, अटेर गरे कारबाही गरिने प्रजिअ खत्री