बर्दियाका एक लाख बढि बालबालिकालाई टाइफाइडविरुद्धको खोप


बर्दियाका एक लाख बढि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

गुलरिया(बर्दिया) २१ चैत्र : स्वास्थ्य कार्यालय बर्दियाले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने भएको छ ।

चैत २३ गतेदेखि जिल्लाका आठवटै पालिकाका करिब एक लाख २८ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

खोप लगाउने उमेर समूहका झण्डै ८० प्रतिशत बालबालिका विद्यालयमा रहेका कारण विद्यालयमा ३०३ वटा खोप केन्द्र राखिएको प्रमुख गिरीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रमुख गिरीका अनुसार विद्यालय र स्वास्थ्य केन्द्रमा खोप केन्द्र सञ्चालन गरिनेछ । चैत २३ गतेदेखि २८ गतेसम्म पहिलो चरणमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइसक्ने प्रमुख गिरीले जानकारी दिए ।

जिल्लाका ३७८ खोप केन्द्रमा टाइफाइड विरुद्धको खोपका लागि ६४४ जना स्वास्थ्यकर्मी खटिने छन् । ३७८ खोप केन्द्रमध्ये ३०३ वटा विद्यालयमा र ७५ वटा स्वास्थ्य केन्द्रमा रहने स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक एवम् सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।

टाइफाइड ज्यान जोखिममा पार्न सक्ने सङ्क्रामक रोग भएकाले खोप लगाउन सबैले प्रेरित गर्नुपर्ने प्रमुख गिरीले बताए । पानी र खानेकुराबाट टाइफाइड रोगको सङ्क्रमण हुनुमा तेस्रो स्थानमा रहेकाले नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको सङ्क्रमण देखिने गरेको तथ्याङ्क छ ।