साढे १८ केजी अफिम सहित ४ जना नेपालगन्जमा पक्राउ
नेपालगन्ज: लागुऔषध ब्राउन सुगर बनाउन प्रयोग गरिन कच्चा पदार्थ अफिमको खेती नेपालका पहाडी जिल्लामा हुने गरेको छ ।
भारतीय तस्करहरुको लगानीमा नेपालका पहाडी जिल्लामा अफिमको खेती हुने गरेको हो ।
नेपालमा अफिमको खेती गरी उक्त अफिम भारतमा लगेर ब्राउन सुगर बनाएर पुनः नेपालमा भित्रिने गरेको छ । जुन घातक लागुऔषध हो ।
बाँके प्रहरीले भारीमात्रामा अफिम पक्राउ गरेको छ । तस्करी गरी नेपालबाट भारत तर्फ लगिरहेको अवस्थामा बुधवार विहान ५ बजेतिर बाँकेको फुल्टेक्रा स्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिम सहित ४ जनालाई पक्राउ गरेको छ ।
एका विहानै अटो रिक्सामा राखेर लगिरहेको अवस्थामा प्रहरीले अफिम पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र ३ जना पुरुष रहेका छन् ।
उच्च प्रहरी स्रोतका अनुसार, नेपालगन्जमा अफिम ल्याइ पु¥याएको सूचना पाएपछि एक हप्तादेखि बाँके प्रहरीले निगरानी बढाएको थियो ।
‘पिछा गर्दै जाँदा हाम्रो प्रहरीले विहान मात्र यति ठूलो परिमाणमा अफिम पक्राउ गर्न सफल भयो । त्यतिमात्र होइन तस्करीमा संलग्न मान्छे पनि पक्राउ गरियो ।’ एक उच्च प्रहरी अधिकारीले सेतोखरीसँग भने ।
दैलेख, जाजरकोट, रुकुम, सल्यान लगायतका जिल्लामा लुकीछिपी अफिम खेती गर्ने गरिएको छ । भारतीय लागुऔषध तस्करहरुले अफिमको बीउ र पैसा नेपालको पहाडी जिल्लामा पठाउने र स्थानीयले अफिमको खेती गरेर चोप निकाली पैसा लगानी गरेका तीनै भारतीय व्यापारिलाई बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।