कान्जी हाउस बन्यो ‘पशु हत्या केन्द्र’

उपमहानगरपालिकाको उदासिनताले दिनहुँ मर्न थाले पशु


कान्जी हाउस बन्यो ‘पशु हत्या केन्द्र’

कान्जी हाउसमा बुधबार मरेको घोडा ।

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको कान्जी हाउसमा रहेका पशुचौपायाहरु दिनहुँ मर्न थालेकाछन् । कान्जी हाउसमा रहेका पशुचौपायाहरुको उचित संरक्षणमा उपमहानगरपालिकाले उदासिनता देखाएपछि पशु मर्न थालेका हुन् । गर्मी, उचित आहारा, पानी, छहारी र स्वास्थ्य उपचारको कमीका कारण प्रायजसो २–३ दिनमा १–२ वटा पशुचौपाय मरिरहेछन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, विर्ता गाँउमा रहेको सो कान्जी हाउसमा रहेका पशुचौपायालाई यतीवेला न त गर्मी छल्न शीतल छहारी छ, न त खानलाई उचित आहारा र पानी । अझ घाउचोट लागेका र विरामी पशुको उचित उपचार हुननसक्दा स्वस्थ पशुपनि मर्ने गरेका छन् । चर्को गर्मीमा कान्जीहाउसमा राखिएका पशु उचित आहारा ब्यवस्थापन नहुँदा सुख्खा भुस खाइरहेका हुन्छन् । भने कतिपयले एकअर्काका गोबरसमेत खाइरहेको पाइएको छ ।

पछिल्लो दुई हप्ता यता कान्जी हाउसमा रहेका आधा दर्जन बढि गाई, गोरु र घोडा उचित आहारा र स्वास्थ्य उपचार नपाँउदा मरिरहदाँसम्म उपमहानगरपालिकाले संरक्षणमा चासो समेत देखाएकोछैन ।

Kanti Aarogya Hospital Nepalgunj

छाडा पशुचौपाया नियन्त्रण गर्न उपमहानगरपालिकाले कान्जी हाउस बनायो । पशुचौपायालाई नियन्त्रण गरि राख्यो तर, यसरी कान्जी हाउसमा राखिएका पशुचौपायाको उचित संरक्षणमा उपमहानगरपालिकाले उदासिनता देखाउँदा ‘पशु हत्या केन्द्र’ नै बनेको छ कान्जी हाउस ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, साविक पुरैनाको विर्तामा रहेको कान्जी हाउसमा बुधबार एक घोडा तड्पिएर मरेकोछ । उचित आहारा र पानीको अभावमा लामो समयदेखि विरामी रहेको सो घोडा कान्जी हाउसमै तड्पिएर मरेको भेटिएको हो ।

तापक्रम अत्यधिक वृद्धि भएपछि कान्जीहाउसमा थुनेर राखिएका पशुचौपायाहरु अत्यधिक गर्मी र आहाराको उचित व्यवस्थापन हुन नसक्दा मर्न थालेपछि सेतोखरीले जेठ २८ गते कान्जीहाउसमा राखिएका पशुचौपायाहरुको उचित आहारा, छहारी र स्वास्थ्य उपचार हुननसक्दा मरेको समाचार प्रकाशन ग¥यो । सो समाचार प्रकाशन भएको एक हप्ता नवित्दै पुनः कान्जी हाउसका पशु मरेको पाइएको हो ।

कान्जी हाउसमा राखिएका पशुचौपाया नेपालगन्जको प्रचण्ड गर्मीसगैं लड्दै छट्पटिर मरिरहदासम्म पनि उपमहानगरपालिकाले कान, आँखा थुनेर बसेकोछ । जसका कारण दिनहुँजसो पशु मर्न थालेको पाइएको हो । नेपालगन्जको प्रचण्ड गर्मी, गर्मी छल्न छहारी र उचित आहाराको कमीका कारण कान्जी हाउसमा राखिएका पशुचौपाया विरामी भइ मर्न थालेपछि स्थानीयले समेत आक्रोस पोखेकाछन् ।

कान्जी हाउसका पशुचौपाया गर्मी छल्न नसक्दा बेहोस् हुने, प्रयाप्त आहारा, पानी र छहारी नपाउदाँ छटपटाएर मरिरहदाँसम्म वडा कार्यालय र उपमहानगरपालिका चुप लागेर बसेपछि स्थानीयले आक्रोस पोखेका हुन् । भोक, प्यास र गर्मीका कारण तड्पिएर पशु मरिरहँदा कान्जी हाउस निर्दोश पशुचौपायाको हत्या गर्ने थलो बनेको स्थानीयको बुझाईछ । पशु तड्पिएर कराउँदै मर्दासम्म कान्जी हाउस र उपमहानगरपालिकाले चासो समेत लिएको छैन ।

उपमहानगरपालिकाले कान्जीहाउसको उचित व्यवस्थापन नगर्दा पशुचौपायाको दिनानुदिन दयनिय अवस्था हुदै गएकोछ । दिउँसोको प्रचण्ड गर्मीमा छहारीको अभावमा काकाकुल हुनु र रातको समयमा तातिएको जमिनमा बस्दा विरामी भइ मर्न थालेको हुन् ।

पशुसंरक्षणमा उपमहानगरपालिकाले लापरबाही गरिरहेको छ । कान्जीहाउसमा यसरी याताना दिएर छाडा पशुचौपाया राख्नुको के अर्थ ? प्रयाप्त आहारा, छहारी विना राखिएका पशुचौपाया भोकै, प्यासै र गर्मीबाट आक्रान्त भएर मरिरहेकाछन् ।

कान्जी हाउसमा रहेका पशुचौपायाहरु मध्ये अहिले सम्म २ घोडा, ३ गोरु, ४ गाई मरिसकेकाछन् । तर, कान्जी हाउसले मरेको पशुचौपायाको तथ्यांक लुकाईरहेकोछ । उपमहानगरपालिकाको उदासिनताले कान्जी हाउसमा राखिएका पशुचौपाया उचित आहारा र पानी नपाउदाँ विरामी हुनु र मर्न थालेपछि स्थानीयबासी आक्रोसित मात्र नभइ पशु हत्यामा सक्रिय रहेको बताएकाछन् ।

कान्जी हाउसका ईन्चार्ज राकेश भारतीका अनुसार पशुका लागि दिनमा दुईपटक गहुँको भुस, नुन मिश्रित ब्राण्ड र पानी खुवाउने गरेको बताए । उनले भने –पशुका लागि शीतल छहारीको कमीछ । कान्जी हाउसमा टिनले छाएको एउटा मात्र बास स्थान छ । जहाँ शीतल छहारीको खोजीमा पशुचौपाया एकआपसमा लड्ने गरेको उनी बताउँछन् ।

भारतीले भने– खुला चउरमा पशुका लागि छहारीको ब्यवस्था नहुँदा समस्या देखिएको हो । टिनले छाएको कटेरोमा मात्र बलिया, चलाख पशु बस्छन् अरु सवै चर्को घाममा बस्छन् । ईन्चार्ज भारतीका अनुसार गर्मीबाट आक्रान्त भएका, बुढो तथा विरामी पशुचौपाया मर्ने गरेको स्वीकारे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा रहेको कान्जीहाउसमा पछिल्लो तथ्यांक अनुसार १ सय २७ वटा पशुचौपाया छन् । जसमा घोडा, बछेडा ९, बाख्रा, पाठापाठी ३ र गाई, गोरु, बाछाबाछी गरि १ सय १५ वटा छन् । जसमध्ये जेठ २४ गते शनिबार नेपालगन्ज उमपहानगरपालिकाले ८ वटा घोडा, बाख्रा र पाठापाठी गरि ३ वटा र गाई, गोरु र बाछाबाछी ४४ वटा गरि ५५ वटा पशुचौपाया कान्जीहाउसमा बुझाएको थियो ।