लगनपछिको पोतेझैं बन्यो ‘पौडी पोखरी’

एउटै बन्न दश वर्ष


लगनपछिको पोतेझैं बन्यो ‘पौडी पोखरी’

नेपालगन्जको पौडी पोखरी । तस्विरः समीरमान श्रेष्ठ

नेपालगन्ज : लगन पछिको पोते के काम ? भनेझैं बनेको छ नेपालगन्जको पौडी पोखरी । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गर्दै सुरु गरिएको पौडी पोखरी समयमै निर्माण नहुँदा लगनपछिको पोते झै बनेको हो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको दुई महिनापछि शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले पौडी पोखरीको औपचारिक उद्घाटन गरे ।

खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितका बेला जसरी पनि रङ्गशालाकै पौडी पोखरीमा पौडी प्रतियोगिता हुने दावि गरे । निर्माणाधिन पोखरी सञ्चालनमा नआएपछि लाज ढाक्नका लागि भएपनि फाईनल खेल पौडी पोखरीमा गर्ने भन्दै प्रतियोगिता नेपालगन्जको होटल सिग्नेट इन कृष्णामा गरियो ।

एउटा पौडी पोखरी बन्न कति वर्ष लाग्ला ? पक्कै पनि १–२ वर्षमा त बनिहाल्छ नि भन्ने लाग्न सक्छ । तर, राष्ट्रिय खेलकुद परिषद् र खेलकुद विकास समिति प्रदेश नम्बर पाँचको चरम लापरबाही र उदासिनताले एउटै पौडी पोखरी बनाउन १० वर्ष लाग्यो ।

Kanti Aarogya Hospital Nepalgunj

२०६६ सालमा तत्कालीन युवा तथा खेलकुदमन्त्री गणेशबहादुर नेपालीले नेपालगन्ज रंगशाला परिसरमा शिलान्यास गरेका थिए । उनले दुई वर्षभित्र पौडी पोखरी निर्माण पूरा भई सञ्चालनमा आउने आश्वासन दिए पनि शिलान्यास गरेको १० वर्षपछि निर्माण कार्य पूरा भएको हो ।

नेपालगन्जको पौडी पोखरी निर्माणका लागि हरेक वर्ष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेता पनि राखेपा र खेलकुद विकास समिति प्रदेश पाँचकै लापरबाहीमा पौडी पोखरी समयमै बन्न नसकेको हो । यसबिच नौजना युवा तथा खेलकुदमन्त्रीका साथ पाँच जना सदस्य सचिवसमेत फेरिए ।

तत्कालीन मन्त्री गणेशबहादुर नेपालीले शिलान्यास गरेदेखि विष्णु पौडेल, कमला रोका, हितमान शाक्य, सत्यनारायण मण्डल, पुरुषोत्तम पौडेल, राजेन्द्र केसी र दलजित श्रीपाइलीले आफ्नो कार्यकालमा पौडी पोखरी निर्माण पूरा गर्ने वाचा गरे पनि त्यो हुन सकेनरु। वर्तमान युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माबाहेक आठजना मन्त्रीको कार्यकाल सकिएको छ।

यस्तै नेपालगन्ज रंगशालाको पौडी पोखरीको निर्माण पूरा नहुँदै पाँच सदस्य–सचिव फेरिए । पौडी पोखरी शिलान्यास हुने बेला हरिबाबु चौधरी राष्ट्रिय खेलकुद
परिषद्का सदस्य–सचिव थिएरु। त्यसपछि जीवनराम श्रेष्ठ, युवराज लामा, सकुन्तला नगरकोटीको कार्यकाल सकिएको छ । अहिलेका सदस्य–सचिव केशवकुमार
विष्टछन् । यीनको पनि कार्यकाल सकिँदै छ ।

दश वर्ष लगाएर निर्माण गरिएको पौडी पोखरीले राखेप र खेलकुद विकास समितिको कार्यकुशलता र क्षमतामाथि प्रश्न उठाएकोछ । करिब १८ करोड रुपैयाँ लागतमा निर्माण गरिए पौडी पोखरीमा करीब ३ करोडको प्याराफिट, डिप बोरिंङ्ग, अत्याधुनिक पानी शुद्धिकरण गर्ने उपकरण, रेष्टुरेन्ट लगायतको सुबिधा छ ।

५० मिटर लम्बाई र २५ मिटर चौंडाई भएको यो पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिएको समितिले दावि गरिरहेकोछ । तर, पौडी विशेषज्ञका अनुसार पौडी पोखरीमा मिटरलाई मात्र आधार मानेर अन्तराष्ट्रिय मापदण्डको हो भन्न नमिल्ने बताउँछन् ।

विश्व पौडी संघको नियमले पौडी पोखरीमा अत्यावश्यक गट लाइनको व्यवस्था छैन भने पोखरीमा पानी र आवश्यक औषधि राखेपछि कम्तीमा एकसाता कुनैपनि प्रतियोगिता आयोजना गर्न मिल्दैन तर, स्विमिङ पुल परीक्षणका रुपमा संचालन भएकै दिन जिल्ला स्तरीय पौडी प्रतियोगिता आयोजना भएपछि यसले राष्टिूय खेलकुद विकास समिति र प्रदेश पाँच खेलकुद विकास समितिलाई गिज्याइरहेकोछ ।

बाँके जिल्ला पौडी संघ अध्यक्ष गोवद्र्धन सिह सम्झनाले राखेपको लाहपरवाहीका कारण समयमै पोखरी निर्माणको काम नसकिएको बताउँछन् । उनले भने, ‘हतारमा काम गर्ने नेपालीको चलन भएकै कारण सर्वसाधरणले सास्ती भोग्नुपरेको बताउदै राखेपकै लाहपरवाहीले समयमै पौडी पोखरी बन्न नसकेको हो ।