किसानले धानको ब्याड राख्दै
नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाह बाढिपीडित क्षेत्रमा ।
नेपालगन्ज : आईतबार बिहानदेखि परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका गाउँहरु डुवानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
बनियाँगाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपुर्वा, रोशनपुर्वा लगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सय भन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुबैतिर कटान गरेको अध्यक्ष शाहले बताए ।
अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरिक्षक विरेन्द्रबीर विश्वकर्माले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा पनि पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्दारमा खटिएको छ ।
आईतबार विहानदेखि परेको अविरल वर्षाले नेपालगन्ज आसपास क्षेत्र जलमग्न बन्यो । निरन्तर पानि परिरहदाँ नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सथानमा पानी जमेको थियो । सडक र नालामा जमेको पानीका कारण सर्वसाधरणले सास्ती भोग्नु प¥यो । विशेषगरि उपमहानगरपालिकामा निर्माण भइरहेको सडक तथा नालाका कारण सर्वसाधरणलाई असहज भएको थियो ।
उपमहानगरपालिकाको तेजनगर, पुरैना गाँउदेखि होलिया जानेबाटो, कारकाँदो लगायतमा भइरहेको सडक मा हिलो र पानी जमेपछि सर्वसाधरणले सास्ती भोग्नु परेको थियो । तेजनगरका स्थानीय ललित भण्डारीका अनुसार वर्षायामको मुखमा गरिने विकास निर्माणका कार्यले सर्वसाधरणलाई सहजता नभइ अप्ठ्यारो पार्ने गरेको बताए । उनले भने तेजनगरको बाटो हिड्ने लायकको छैन, सडक र नाली निर्माणको कार्यले सहजै आवतजावत गर्न हम्मे–हम्मे परेकोछ ।
यस्तै ढिलागरि भएको वर्षाले किसानलाई राहत भएकोछ । असार दोस्रो साताबाट सुरु भएको वर्षाले किसानलाई राहत भएको हो । धान रोपाई गर्ने दिन नजिकिदै जाँदा ब्याड समेत राख्न नपाएका किसानलाई आईतबारको वर्षाले राहत प्रदान ग¥यो ।
जिल्लामा सिचाईको उचित व्यवस्थापन नहुँदा सधै आकाशे पानीको भरमा खेतीकिसानी गर्ने किसानलाई आईतबार परेको पानीले सहज बनाएको छ ।
यसैबीच, बाँके कुसुमको जलमापन केन्द्रका प्रतिनिधि भद्रबहादुर थापाका अनुसार आईतबार बेलुका ४ बजे पानीको सतह २.४२ मिटर पुगेको छ । नदीमा पानीको सतह बढ्ने क्रम भएता पनि कुनै खतराको संकेत भने नभएको उनले बताए ।
उनका अनुसार नदीमा पानिको सतह ५ मिटर पुगेमा चेतावनी दिइन्छ । ५.४० मिटर पानीको सतह पुगे खतरा हुन्छ । आसपासका गाउँ डुबानको जोखिममा हुन्छन् ।