करबलाका नाममा दादागिरी

अदालतको अन्तरिम आदेश लत्याउँदै ब्यक्तिगत जमिन मिचेर करबलामा पर्खाल निर्माण


अदालतको अन्तरिम आदेश लत्याउँदै ब्यक्तिगत जमिन मिचेर करबलामा पर्खाल निर्माण

नेपालगन्ज ९ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ गंगापुरमा अदालतको अन्तरिम आदेश लत्याउँदै ब्यक्तिगत जमिन मिचेर कर्वलामा पर्खाल निर्माण भएको पाइएकोछ । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले गत वैशाख २७ गते नेपालगन्ज उपमहानगरपालिकालाई विपक्षी बनाई अन्तरिम आदेश समेत दिएको थियो ।

उच्च अदालतले ब्यक्तिको जमिन मिचेर उक्त कर्वलामा पर्खाल निर्माण नगर्न भन्दै वरिष्ठतम न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्दले यस्तो आदेश दिएका हुन् । तर, अदालतकको आदेशलाई लत्याउँदै कर्वलामा पर्खाल निर्माण भइरहेकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को वडा कार्यालय, करबला बाउण्ड्री निर्माण उपभोक्ता समितका अध्यक्ष सत्तार खाँ, उपाध्यक्ष सालिकराम बढही, सचिव अब्दुल गाफर खाँ, सदस्यहरु वारिस कवडिया, हरियासी नाउँ र अकबर अलि साईका नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

अदालतले दिएको आदेशलाई लत्याउँदै उक्त स्थानमा कर्वला बाउण्ड्री निर्माण उपभोक्ता समितिले धमाधम पर्खाल निर्माण गरिरहेको हो ।

ऐलानी जमिनसंगै रहेको रामजानकी गोडियाको जमिन मिचेर आउजाउका लागि समेत निकास नाराखी कर्वलामा बाउण्ड्री निर्माण गर्न थालेपछि रामजानकीले गत वैशाख ३ गते मुद्दा दायर गरेकी थिइन् ।

‘निवेदकले अन्तरिम आदेश समेत माग गरेकोले सोतर्फ विचार गर्दा, निवेदकको नाममा दर्ता स्रेस्ता कायम रहेको कि.न. ५५९ को जग्गामा निजको सहमति र मन्जुरी बेगर उक्त जग्गा च्यापी घुसाई सिरयाको पिलर र जग उठाउन शुरु गरेको हुँदा सो जग्गाको सीमाना नछुटाई एकिन नगरेसम्म निर्माण कार्य यथास्थितीमा राखिपाउँ भन्ने निवदेन मागदावी रहेको र कि.नं.५५९ को जग्गाको कुनै पनि भागमा निज निवेदकको मन्जुरी बेगर पिलर निर्माणका लागि जग खन्ने, ईटाको पर्खाल निमार्ण गर्ने गराउने कार्य तथा उक्त जग्गामा बनेको घरमा आवतजावत गरिने स्थानको निकास बन्द नगर्नु, नगराउनु भनि उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार गर्नु ।’ उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश डाक्टर बागचन्दद्वारा जारी अन्तरिम आदेशमा उल्लेखछ ।

अदालतको आदेशलाई लत्याउँदै बलजबरजस्ती कर्वलामा पर्खाल निर्माण भइरहँदा सम्बन्धित पक्षले भने मौनता साँधेर बसेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयसंगै रहेको ऐलानी जमिन साविक उदयपुर गाविस वडा नम्बर–३ ‘क’ कित्ता नम्बर ९४ जग्गाको पूर्वमा १० मिटर बाटो कायम रहने गरि पश्चिममा रामप्रसाद गोडियाको लम्बरी जग्गा, उत्तर पक्कि बाटो र दक्षिणमा साविक उदयपुर गाविसको भवन र लम्बरी जग्गा चार किल्ला भित्रको जग्गामा धेरै वर्षदेखि मुस्लिम समुदायहरुले ताजिया राख्दै आएको भनि करबला बाउण्ड्री निर्माण समितिले सिफरिस लिएका थिए ।

सो सिफारिसलाई आधार मानेर समितिले ऐलानी जमिन कित्ता नम्बर ५६० को पछाडी रहेको कित्ता नम्बर ५५९ रामजानकी गोडियाको जमिन समेत मिचेर आउजाउका लागि कुनै निकास, बाटो खाली नराखि पर्खाल निर्माण गर्दा रामजानकीले मुद्दा दायर गरेकी हुन् ।