गुलरिया (बर्दिया) १४ जेठ : आफु जनताको सेवाको लागी निर्वाचित भएको भन्दै बारबर्दिया नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख छविलाल थारुले शासक नभई सेवकको रुपमा काम गर्ने बताएकाछन् ।
बर्दियाको बारबर्दिया नगरपालिका अन्तर्गत निजामति कर्मचारी युनियन नगर समितिको आयोजनामा गरिएको नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै थारुले अबको पाँच वर्षको अवधिमा सेवा प्रवाहमा कुनै पक्षपात नहुने, विकासका सवालमा अन्य राजनीतिक दलहरुसंग समन्वय तथा सहकार्य गरेर अगाडी बढ्ने बताए ।
उनले नगरबासीको आर्थिक सामाजिक स्तर बृद्धि गर्नका लागी नगरबासीको योजना र कार्यक्रमलाई सँगै लिएर जाने उनले प्रष्ट्याए ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एव आमन्त्रीत केन्द्रिय सदस्य महेन्द्र शर्माले नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै जनताको मत जित्ने खालका काम गर्न सुझाव दिए ।
उनले नेपाली जनताले यस पटक नेपाली काँग्रेस प्रति गरेको विश्वासलाई जोगाउँदै नगरबासीको मन जित्ने खालको काम गर्न आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण घिमिरे, नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष द्रोण शर्मा, युनियनका नगर समिति अध्यक्ष तुल्सिराम पोख्रेल लगायतले समेत शुभकामना दिएको नेपाल निजामति कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष दीपकराज थापाले जानकारी दिए ।