खजुरा गाँउपालिका साक्षर घोषणा


खजुरा गाँउपालिका साक्षर घोषणा

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । खजुरा गाउँपालिकामा रहेका ८ वटै वडामा १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ९६ दशमलव ९९ प्रतिशत नागरिक साक्षर रहेकाले खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।

प्रदेश पाँचकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले खजुरामा आयोजित कार्यक्रममा गाउँपालिका साक्षर भएको घोषणा गरिन् । उनले खजुरा गाउँपालिका साक्षर भएकोमा सह्राना व्यक्त गर्दै बाँके र कपिलवस्तु साक्षर भएपछि प्रदेश नं. ५ लाई साक्षर घोषणा गरिने बताइन् ।

मन्त्री पौडेलले साक्षर व्यक्ति समाजलाई योगदान दिने भन्दै शिक्षाले जीवनलाई उज्यालो पार्ने बताइन् । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका साक्षर घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १५ वर्षदेखि ६० वर्षसम्मका ३८ हजार ९०१ जनसंख्या रहेकोमा ३७ हजार ८१६ जना मानिस साक्षर रहेको बताए ।
उनले अब पूर्णसाक्षर बनाउन अघि बढ्ने जनाउँदै शिक्षाको मूलगेट खोल्ने काम साक्षरताले गर्ने बताए । अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकाको शैक्षिक अवस्थाबारे जानकारी दिँदै ३० वटा सामुदायिक, १७ मदरसा, १८ संस्थागत विद्यालय गरी ६५ विद्यालय, १ सामुदायिक क्याम्पस, १ निजी क्याम्पस २ वटा प्राविधिक धारका नमूना विद्यालय सञ्चालन भइरहेको र निकट भविष्यमा बिएसस्सी एजीको पढाई हुने बताए ।

विभिन्न तहमा अध्ययन गर्ने करीब १७ हजार ८४९ विद्यार्थी रहेको खजुरा क्षेत्रलाई शैक्षिक हबको रुपमा समेत अघि बढाउन थालिएको उनले बताए । ‘खजुरा गाउँपालिका समृद्धिको आधार: हामी सबै शिक्षित भई पारौं साकार’ भन्ने मूल नाराका साथ घोषणा भएको कार्यक्रममा शिक्षा समिति सदस्य भक्तबहादुर केसीले सोच र चिन्तनमा परिवर्तन गर्न जरुरी रहेको बताउँदै साक्षर अभियानले सामुदायिक सार्वजनिक क्षेत्रमा काम गर्न सहज हुने उल्लेख गरे ।

Kanti Aarogya Hospital Nepalgunj

उपप्रमुख एकमाया विकले स्वागत गरेको कार्यक्रममा सबै वडाका वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो । जिल्ला समन्वय समिति संयोजक अजयकुमार श्रीवास्तव, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, कर्मचारी, समाजसेवी, तथा सरोकारवालाको सहभागिता थियो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले  खजुरालाई २५ लाख नगद पुरस्कार दिने घोषणा गरेका छन् । यता कोहलपुर नगरपालिका जिल्लाकै पहिलो साक्षर नगरपालिका भएसगैं नेपालगन्ज उपमहानगरपालिकालाई टाउको दुखाई भएकोछ । साक्षर उपमहानगरपालिका घोषण गर्न थुप्रै अवसरहरु रहदै आएता पनि नेपालगन्ज जिल्लामा पछि परेकोछ ।

उपमहानगरपालिकाभित्र साक्षरताको दर कतिसम्म छ भन्ने यकिन तथ्यांक नहुनु, साक्षर उपमहानगरपालिकाका लागि आवश्यक गतिविधि प्रभावकारीरुपमा सञ्चालन गर्ननसक्नुले पनि उपमहानगरपालिकामाथि प्रश्न तेर्सीएकोहो ।

नेपालगन्ज उपमहानगरपालिका भन्दा कान्छो कोहलपुर नगरपालिका जिल्लामै पहिलो साक्षर नगरपालिका घोषणा भएपछि नेपालगन्ज उपमहानगरपालिकालाई टाउको दुखाई भएको हो । साविकका १७ वटा वडा र पछि थप गरिएका ११ गाविसका कारण नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर घोषणा गराउन समस्या रहेकोछ ।