नेपालगन्ज : नेपालगन्ज रंगशलामा निर्माण भएका करोडौं मूल्यका भौतिक संरचना खण्डहरमा परिणत हुँदैं जान थालेका छन् । संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएका हुन् ।
रंगशालामा निर्माण भएका संरचनाको उचित व्यवस्थापन र संरक्षकका लागि कर्मचारी जनशक्तिको अभाव रहेको कारण समस्या आएको खेलकुद विकास समिति प्रदशे पाँचका अध्यक्ष भीम ओली बताउँछन् ।
संरचना रेखदेखका लागि अहिले एक जना कर्मचारी पनि छैनन् । रंगशालमा अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक पौडीपोखरी छ । रंगशाला परिसरमा सुटिङ एकेडेमी, भारोत्तोलन एकेडेमी, बरमुडा दुवोसहितको आधुनिक फुटबल मैदान, नेपालमा पहिलोपटक जडान भएको भिआइपी प्यारापिट, बाँस्केटबल कोर्ट, ब्याडमिन्टन, भलिबल कोर्ट, हेण्ड बल, एथ्लेटिक्स ट्र्याकलगायतज्ञ संरचना निर्माण भएका छन् ।
तर, यी सबै संरचना संरक्षणको अभावमा खण्डहर बन्दै गएका छन् । यी सबै संरचना रेखदेखका लागि कम्तिमा १८ जना कर्मचारी आवश्यक पर्ने खेलकुद विकास समितिले जनाएको छ ।
यसैगरी आठौंैँ राष्ट्रिय प्रतियोगिता सकिएको दुई महिना बित्न लाग्दासमेत निर्माण भएका संरचनाका ठेकेदार कम्पनीले रकम भुक्तानी पाउन सकेका छैनन । अध्यक्ष ओलीका अनुसार संरचना निर्माण गर्ने कम्पनीले झन्डै नौ करोड भुक्तानी पाउन बाँकी छ ।
नेपालगन्जमा निर्माण भएको भारोत्तोलन एकेडेमीको ३० लाख र सुटिङ एकेडेमीको ३४ लाख भुक्तानी बाँकी छ । सीतापुरमा निर्माण भएको शुक्र भलिबल एकेडेमीको ३९ लाख रुपैयाँ भक्तानी हुन नसक्दा उपभोक्ता समिति समस्यामा छ ।