मधुवनद्वारा किसानलाई कृषि उपकरण वितरण


मधुवनद्वारा किसानलाई कृषि उपकरण वितरण

गुलरिया (बर्दिया) २९ असारः कृषकहरुको माग अनुसार बर्दियाको मधुवन नगरपालिकाले किसानहरुका लागी साना कृषि उपकरण वितरण गरेको छ ।

कृषि उपकरण वितरण गर्दै नगरप्रमुख तेजबहादुर भाटले स्थानीय सरकार सधंै किसानको पक्षमा रहेको हुँदा कृषकको मनोबल बृद्धि गर्नका लागी किसानमैत्री कार्यक्रम ल्यायर कृषिमा लगानी र उर्जा थप्ने कार्यमा लागीरहेको बताए ।

बाँझो रहेका जमिनको हकमा आवश्यकता अनुसार खेति गर्नका लागी किसानसंग समन्वय गरी आर्थिक स्तर बृद्धि गर्नका लागी आफु हरदम तत्पर रहेको नगरप्रमुख भाटको भनाईछ ।

कृषि सामाग्री प्रदान गर्दै उनले किसानलाई खेती गर्नका लागी आवश्यक पर्ने उपकरणहरु किसानकै समन्वयमा खरिद गरी किसानले अपनत्व हुने खालको कार्यक्रमले किसानको जिम्मेवारी पनि बहन हुने धारणा राखे ।
मधुवन नगरपालिकाका कृषि विकास शाखाका प्रमुख एकराज ओलीले किसानहरुलाई साना कृषि औजार उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

किसानहरका लागी धान र गहुँ काट्ने पावर ट्रिलरमा लाग्ने रिपर ६ थान तथा वसन्ते मकै खेती प्रबद्र्धनका लागी ५ थान मकै छर्ने मेसीन, व्यवसायिक किसानहरुका लागी तौल काँटा ५ थान, साना किसानका लागी आफुले लगाएको बाली नालीमा किराहरुको प्रकोपले पुग्ने क्षति कम गर्नको लागी ४ जेभल विषादी छर्ने स्प्रे ७६ थान र सादा स्प्रे ५ थान र ठुला विरुवाहरुका लागी किरा लगायतको प्रकोपको विरुद्ध लड्नका लागी ठुलो खालको स्प्रे वितरण गरिएको बताए ।

उनले किसानहरुका लागी वर्षेनी यस्ता खालका गतिविधिहरु निरन्तर भैरहने जानकारी दिए ।

सामान्य आर्थिक अवस्थाका किसानहरुले कृषि उपकरण खरिद गर्न नसकेकै कारण खेतीमा सोँचे जस्तो आम्दानी गर्न नसकिरहेको अवस्थामा नगरपालिकाको सहयोगले टेवा पुग्ने विश्वास गरिएकोछ ।

आफुले ५० प्रतिशत अनुदानमा पाएको धान तथा गहुँ काट्न प्रयोग गरिने मेसीन पाउँदा निकै खुसी भएको मधुवन–७ का किसान बालकृष्ण थारुले बताए ।

‘हातले धान तथा गहुँ काट्दा धेरै समय लाग्ने भएको हुदाँ अब मेसीनबाटै समय र खर्चको बचत हुनेभएपछि सहज भएको थारुको भनाई रहेको छ । किसानहरुले अनुदानमा पाएको कृषि उपकरणलाई सहि तरिकाले सदुपयोग गर्ने बताएका छन् ।