राष्ट्रपति खेलकुद महिला अभिवृद्धि कार्यक्रम: बाँकेका १५० किशोरीले आत्मरक्षाको सीप सिके


राष्ट्रपति खेलकुद महिला अभिवृद्धि कार्यक्रम: बाँकेका १५० किशोरीले आत्मरक्षाको सीप सिके

सञ्जय शाही

नेपालगन्ज ३१ असार : राष्ट्रपति खेलकुद महिला अभिवृद्धि कार्यक्रम बिहिबार बाँकेमा सम्पन्न भएको छ । तीन दिने अभिवृद्धि कार्यक्रममा बाँकेका विभिन्न विद्यालयका १ सय ५० जना किशोरीहरु सहभागि थिए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन खेलकुदमा महिलाको अभिरुचि बढाउँदै आत्मरक्षाका सीप सिकाउने उद्देश्यले उक्त कार्यक्रम भएको थियो ।

महिलाहरुलाई खेलकुदमा अभिरुची बढाउने उद्देश्य सहित गरिएको तालिममा विभिन्न खेलका प्रशिक्षकहरुले तालिममा सहभागिहरुलाई खेलका सैद्धान्तिक र व्यवहारिक पक्षहरुको बारेमा अभिमुखिकरण गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रम समापनका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आर्चायले महिलाहरुलाई लक्षित गरेर कोहलपुरले खेलकुदका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताए । खेलकुदका महिलाको सहभागितालाई बढाउन बाँके जिल्ला खेलकुद विकास समितिसँग आवश्यक सहकार्य गरेर अगाडी बढने उनले बताए ।

बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दीपजंग शाहले खेलकुदमा भएका थुपै्र समस्याहरुलाई समाधान गर्नको लागि आफुले पहल सुरु गरिसकेको बताए । उनले भने, ‘खेलकुदमा धेरै कुरा गर्न बाँकी छ । खेलाडीका समस्या थुपै्र छन् । हामी सबै मिलेर, सहकार्य गरेर जिल्लाको खेलकुदलाई माथि उठाउने काम गर्नुछ ।’

सेल्फ डिफेन्स संघ अध्यक्ष नारायणी ओलीले महिलाहरुलाई आत्मरक्षाका सीप सिकाउने गरिएको यस अभिवृद्धि कार्यक्रम निकै महत्वपुर्ण भएको बताइन । उक्त तालिमबाट महिला खेलाडीलाई अगाडि बढ्नको लागि केहि नयाँ सीप र ज्ञान प्रदान भएको उनको भनाइछ ।

कार्यक्रमको अन्तिम दिन(बिहीबार) राष्ट्रिय खेलकुद परिषद् सदस्य सुमित्रा चौधरी, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले कार्यक्रमको अवलोकन गरेका थिए ।

अभिमुखिकरण तालिममा सहभागि भएका किशोरीहरुलाई भलिबलका प्रशिक्षक लाल बहादुर मल्ल, फुटबलका रबिन्द्र कुमार श्रेष्ठ, तेक्वान्दोका चन्द्र प्रकाश श्रेष्ठ, करातेका कृष्ण चौधरी, एथलेटिक्सका छविलाल थापामगर, रग्वीका यदु अधिकारी, सेल्फ डिफेन्सको तर्फबाट अदान सिंह थापा र दिक्षा ओलीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका सहभागिलाई कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आर्चाय, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दीपजंग शाह, जिल्ला समन्वय समिति सदस्य रेवती परियार, सन्त कुमार थारु, नेपालगन्ज उप–महानगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गोरख बहादुर थापा, बाँके जिल्ला एथलेटिक्स संघ अध्यक्ष बिक्रमजंग थापा, बाँके सेल्फ डिफेन्स संघ अध्यक्ष नारायणी ओली, बाँके तेक्वान्दो संघ अध्यक्ष प्रकाश लामिछाने, बाँके कराते संघ अध्यक्ष सन्तोष शाह, बाँके जिल्ला कबड्डी संघ अध्यक्ष जर्नादन केसी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।