‘खेलाडीहरुले औंठी बन्धक राखेर खेल्नुपर्ने अवस्थाबाट बाँके जिल्ला मुक्त गराउने छौं’ अध्यक्ष शाह

नव नियुक्त पदाधिकारीहरुले गरे पदभार


‘खेलाडीहरुले औंठी बन्धक राखेर खेल्नुपर्ने अवस्थाबाट बाँके जिल्ला मुक्त गराउने छौं’ अध्यक्ष शाह

नेपालगन्ज १ साउन : बाँके जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

प्रदेश खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम १ मा भएको व्यवस्था बमोजिम ९ सदस्य जिल्ला खेलकुद विकास समिति गठन भएको थियो ।

उक्त समितिले आईतबार एक कार्यक्रमकाविच नेपालगन्ज रंगशालास्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य नरेन्द्र थापाले बाँके खेलकुदमा अहिले युवाहरुको टिम आएकाले यस टिमले राम्रो काम गर्ने विश्वास लिइरहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले खेलकुद क्षेत्रको विकासका लागी खेल प्रशिक्षक, खेलाडी र समिति विच समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै खेलकुद विकास समिति बाँके अध्यक्ष संदीपजंग शाहले बाँके जिल्लाको खेलकुदमा देखिएका अनियमितालाई आफुले रोक्ने र खेलाडी र प्रशिक्षकहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउने बताए ।

उनले नेपालगन्ज रंगशाला लगायत बाँकेमा रहेका खेलकुदका संरचनालाई जिल्ला खेलकुद बिकास समितिको मातहतमा ल्याउन आफ्नो समितिको मुख्य उद्देश्य रहेको बताए ।

‘अहिले जुन अवस्थामा बाँके खेलकुद विकास समिति रहेको छ, त्यो अवस्थाबाट माथि उठाउने छौं’ शाहले बताउँदै ‘खेलाडीहरुले आफुले लगाएको औंठी बन्धक राखेर खेल्नुपर्ने अवस्थाबाट बाँके जिल्ला मुक्त गराउने छौं ।’

बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न खेलका खेल प्रशिक्षक, खेल संघका प्रतिनिधिहरु, वरिष्ठ खेल पत्रकार टंक सिंह ठकुरी र विभिन्न खेलका खेलाडीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष चेतकान्त भट्टराई, कोषाध्यक्ष विरेन्द्र शाही, महिला सदस्यहरु रेबति सिंह, मञ्जु शाह, दिपक ओली, मोहम्मद जावेद हल्वाई, रञ्जित सिंह सिंजापती र चन्द्र राना समेतले पदभार ग्रहण गरेका थिए ।

यसैबीच जिल्ला खेलकुद विकास समितिको आईतबार बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन, खाता सञ्चालन, कार्यालय सहयोगी राख्ने, रंगशाला सरसफाई र बाँकेमा रहेका सवै स्थानीय तहमा किशोरीहरुलाई आत्मरक्षा अभिबद्धि कार्यक्रम सञ्चालन गर्ने विभिन्न छ वटा निर्णय गरेको छ ।