भगवान शिवको प्रिय महिना साउन


भगवान शिवको प्रिय महिना साउन

File Photo

नेपालगन्ज २ साउन : हिजोबाट साउन महिना सुरु भएको छ । साउनलाई ‘श्रावण’ महिना पनि भनिन्छ । श्रावणको अर्थ हो श्रवण गर्ने अर्थात सुन्ने । चतुर्मास, जसमा हरिको कथा श्रवण गरिन्छ । तर, चतुर्मासको पहिलो महिना ‘हर’ अर्थात शिवको उपासनाको महिना हो । साउन शिवको प्रिय महिना हो । किनभने यसले शीतलता प्रदान गर्दछ । हर चिज, जसले शीतलता प्रदान गर्दछ, त्यो शिवको प्रिय हो ।

भागवत महापुराणमा समुद्र मन्थनको एक कथा छ । देवता र दानव मिलेर समुद्र मन्थन गर्दा विष निस्किन्छ । सारा सृष्टि नै समाप्त पार्नसक्ने विष निस्किएपछि हाहाकार मच्चिन्छ । त्यसपछि भगवान विष्णुले देवताहरुलाई सल्लाह दिन्छन्–जाऊ भोलेनाथसँग पुकार गर । उनले मात्र यो विष पिउन सक्छन् । देवताहरुको अनुनय विनयपछि शिवले त्यो विष पिइदिन्छन् र घाँटीमा अड्काएर राख्छन् । कालकुट भनिने त्यही विष घाँटीमा रहेका कारण शिवको घाँटी निलो हुन्छ । त्यसैले शिवलाई अर्को नाम ‘निलकण्ठ’ भनेर पुकार्न थालियो । त्यो विषको असर यति भयानक थियो कि शिवको शरीरमा असर देखिन थाल्यो । पीडा शान्त पार्नका लागि उनको शरीरमा जल (पानी) चढाउन थालियो।

उनले शीतल महसुस गर्न थाले अनि प्रसन्न पनि भए । त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा सुरु भएको बताईन्छ । साउन महिना यस कारणले पनि शिवको प्रिय छ कि यस महिनामा आकाशबाट पानी बर्सिन्छ । यस्तो कथा आजको युवा पिँढीलाई काल्पनिक लाग्न सक्छ । तर, यसमा सन्देश छ । संसारमा जब कुसंस्कार, अत्याचार र व्यभिचारको विष फैलिन्छ, त्यसलाई मानिसले नै रोक्न सक्छ । जो गृहस्थ भएर पनि सन्यासी जस्तो बन्दछ, सृष्टिको स्वामी भएर पनि पहाडको गुफामा बसेर सन्तुष्ट हुन्छ, जो अघोर अर्थात यस्तो चरित्र जसका लागि कुनै पनि नकारात्मक छैन, सबै समान छ । शिवलाई अघोरवादको प्रवर्तक पनि मानिन्छ । त्यसैले साउन महिना शिवप्रति आस्था व्यक्त गर्ने र विष पिइदिएर संसारलाई बचाएकोमा धन्यवाद दिने प्रतीक महिनाको पनि हो ।

साउन महिना सुरु हुनुभन्दा एक दिन अगाडि गुरु पूर्णिमा मनाइन्छ । यो केवल संयोगमात्र होइन । वास्तवमा शिव नै आदि गुरु हुन् । व्रह्मा सृष्टिको पिता हुन् भने शिव पहिलो गुरु । शान्ति, सन्तुष्टि र सहयोगको जुन पाठ शिवले संसारलाई पढाए त्यो अन्य कुनै देवताले पढाएनन् । देवताहरुको गुरु बृहस्पति र दानवको गुरु शुक्राचार्य हुन् । यी दुवै दुई संस्कृतिका जनक हुन् तर यिनका पनि गुरु शिव हुन् । शिव समानताको प्रतीक हुन् भन्ने कुरालाई बुझ्न फेरि पनि समुद्र मन्थनको प्रसंगसम्म पुग्नुपर्छ । समुद्र मन्थन देवता र दानव दुवै मिलेर गरे । मन्थनको क्रममा अमृत पनि निस्कियो । विष्णुले मोहिनी रुप धारण गरेर दानवलाई छल गरे र देवतालाई मात्र अमृत पिलाए ।

Kanti Aarogya Hospital Nepalgunj

आफूहरुमाथि अन्याय भएको भन्दै दानवहरु शिवको शरणमा पुगे । शिवले भने–अमृतमा दुवैको अधिकार हुन्छ भन्ने सहमति हुँदाहुँदै देवताहरुले छल गर्नु हुँदैनथ्यो । त्यसपछि शिवले तत्काल दानवहरुका गुरु शुक्राचार्यलाई मृत–संजीवनीको विद्या दिए । मृत–संजिवनी यस्तो चिकित्सा पद्धती हो, जसबाट मृत्यु भएकालाई पनि तुरुन्तै जिवित गराउन सकिन्छ । यसबाट थाहा हुन्छ शिवले दानवहरुलाई पनि विभेद गरेनन् । शिवले हिउँ नै हिउँ भएको कैलाश पर्वतलाई घर बनाए । रुखका बोक्रा र पशुका छालाले शरीर ढाके, खरानीले शरीरको श्रृंगार गरे । यसरी पनि उनी सन्तुष्ट र प्रशन्न थिए । यही नै शिवबाट लिन सकिने शिक्षा हो । जे उपलब्धछ, जस्तो उपलब्ध छ, त्यसमै सन्तुष्ट हुनुपर्छ भन्ने सन्देश उनले दिए । यदि हामीले पनि यसबाट प्रेरणा लिँदै अगाडि बढ्ने हो भने हामी पनि महानताको मार्गमा धेरै अगाडि पुग्न सक्छौं ।