नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकालाई बिहीबार साक्षर गाउँपालिका घोषण गरिएको छ । प्रदेश साँसद बाबुराम गौतमले गाउँपालिकालाई साक्षर घोषणा गरेका छन् ।
गाउँपालिका साक्षर भएको प्रमाणपत्र पढेर सार्वजनिक गर्दै गौतमले गाउँपालिका अध्यक्ष रामनिवास यादवलाई साक्षर भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
गाउँपालिकालाई साक्षर बनाउन लागि गाउँपालिकाले विशेष साक्षर कक्षा संचालन गरेको थियो । विशेष साक्षर कक्षा संचालन गरी गाउँपालिका ६ वटै वडामा ४ सय ५६ अनौपचारिक शिक्षा मार्फत ८ हजार ६ सय ६३ जनालाई साक्षर बनाएको थियो ।
यस शिक्षा मार्फत गाउँपालिकाको ९८ दशमलब ६७ प्रतिशत नागरिक साक्षर रहेका र बाँकी ४ सय ६७ अर्थात १ दशमलब ३३ प्रतिशत जनसंख्या अझै पनि साक्षर हुन बाँकी रहेको गाउँपालिकाले बताएको छ ।
विशेष शिक्षा मार्फत साक्षरलाई साक्षोत्तर कक्षा संचालन गरी छिट्टै पूर्णसाक्षर गाउँपालिका घोषणा गर्ने गाउँपालिका अध्यक्ष यादवले बताएका छन् । उक्त घोषणा कार्यक्रममा साँसद गौतमले आफुले प्रत्यक्ष रुपमा आर्थिक सहयोग गर्न नसके पनि प्रदेश सरकारसँग सिफारिस गर्ने र जानकी गाउँपालिकालाई पूर्ण साक्षर बनाउने अभियानमा जुनसुुकै र जस्तो सुकै अवस्थामा पनि आफ्नो सहयोग र सहभागिता रहने बताए ।
मधेसी समुदायको बाहुल्यता रहेको गाउँपालिका साक्षर गाउँपालिका भएको र यसले अन्य पालिकालाई समेत शिक्षा दिएको भन्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले १२ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
गाउँपालिका ६ वटा वडामध्ये वडा नम्बर ४ सबै भन्दा बढी ९९ दशमलब ३३ प्रतिशत साक्षर वडा रहेको छ । वडा नम्बर १ सबै भन्दा कम ९७ दशमलब ६ साक्षर रहेको छ ।
साक्षर घोषणा कार्यक्रममा जखुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, वडाअध्यक्ष सुरेश अहिर प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही लगायतको सहभागीता थियो ।
बाँकेको साक्षर पालिका हुनेमा जानकी तेस्रो पालिका हो । यसअघि कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका साक्षर पालिका घोषण भइसकेका छन् ।