रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना : प्रहरी जवान पुनको मृत्यु, डिएसपीहित पाँच जना घाइते


रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना : प्रहरी जवान पुनको मृत्यु, डिएसपीहित पाँच जना घाइते

नेपालगन्ज २८ साउन : रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरा भन्ने ठाउँमा लु १ झ ६६० नम्बरको गाडी दुर्घटना हुँदा घाइते भएका रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ का पुनको टाउकोमा चोट लागेको थियो ।

उनको बाँके कोहलपुरको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

दुर्घटनामा रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, गाडी चालक प्रहरी हवलदार कुमार सिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा र प्रहरी जवान इन्द्र घर्ती मगर घाइते भएका छन् ।

दुर्घटनामा घाईते भएकालाई उद्धार गर्न प्रयोग गरिएको हेलिकप्टर ।

प्रहरीका अनुसार शनिबार डीएसपी डाँगी र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवार तकसेराको ईलाका प्रहरी कार्यालयको निरीक्षणका लागि जाँदै थिए । त्यसै क्रममा डीएसपी डाँगी चढेको गाडी दुर्घटनामा परेको हो ।

स्थानीय निकायका जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय तकसेराको टोली र स्थानीय बासिन्दाको सहयोगमा उद्दार गरी घाइतेलाई पुथा उत्तरगगा गाउँपालिका–११ डिखिउको हेलिप्याडमा ल्याइएको थियो ।

त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले घाइतेलाई उपचारका लागि नेपालगन्ज लगेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् ।