बहुउद्देश्यीय सभागृह, ‘फुत्कियो कमाई खाने भाँडो’
नेपालगन्ज : बहुउद्देश्यीय सभागृहका नाममा महोत्सव आयोजना गर्दै रकम कुम्ल्याउँदै गरेको वर्तमान नेतृत्वकै कारण सभागृह गुमेको छ । बहुद्देश्यीय सभागृह बनाउने अभियान थालेको ११ वर्षमा पनि नेपालगन्जमा कुनै पूर्वाधार निर्माणको काम हुन सकेको छैन । त्यसो त नन्दलाल बैश्यको वर्तमान कार्यसमितिले दुई वटा महोत्सव गरिसक्दा पनि आर्थिक हिसाबकिताब सार्वजनिक गर्न सकिरहेको छैन ।
२०६४ भदौं ४ मा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष दामोदर आचार्यको कार्यकालमा कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा बहुद्देश्यीय सभागृह निर्माण गर्न मन्त्रिपरिषद्को निर्णयबाट १० बिघा क्षेत्रफल जग्गा भोगाधिकारको अधिकार पाएको थियो ।
पाँच वर्षयता नेपालगन्ज उद्योग वाणिज्य संघले सभागृह निर्माणार्थ सहयोग भन्दै हरेक वर्ष मेला आयोजना गर्दै संकलन भएको रकम हिनामिना गर्दै आएको थियो । तर, अहिलेसम्म मेलाको नाममा डेढ करोड रुपैयाँ मात्र बचत भएको छ ।
पूर्वाधार निर्माणका कुनै पनि काम भएका छैनन् । गत फागुन १९ देखि २९ सम्म आयोजना गरिएको महोत्सवको पूर्वसन्ध्यामा अध्यक्ष बैश्यले महोत्सव सकिएलगत्तै मेलाको हिसाब किताब पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बाचा गरेका थिए । तर, अहिले चार महिना बितिसक्दा पनि मेलाको रकम पारदर्शी सावर्जनिक गर्नेमा उनलाई कुनै वास्ता छैन । उनकै कारण सभागृह बन्न नसकेको उद्योगी व्यवसायीहरुको दावी छ ।
अध्यक्ष बैश्यले भनेका थिए, ‘यो वर्ष कम्तीमा ५० लाख बचत हुने आशा छ । मेलाको हिसाबकिताब पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु । मेलाबाट बचेको रकमबाट सभागृहको पर्खाल लगाउन सुरु गर्छु ।’ तर उनका यी सबै प्रतिबद्धता हावामा उडेका छन् ।
यसअघि संघका बोर्ड सदस्य एवंम प्रादेशिक मेला प्रचारप्रसार समितिका संयोजक टंक धामीले समेत मेला सकिएको १० दिनमा आयव्यय पारदर्शीरुपमा सार्वजनिक गर्ने बताएका थिए । तर, चार महिना वितिसक्दा पनि उनले आयब्यय सार्वजनिक गर्नेतर्फ कुनै चासो देखाएका छैनन् ।
यसले पनि संयोजक धामीले आम नेपालगन्जबासीलाई झुटो बोलेको प्रमाणित भएकोछ । अध्यक्ष बैश्य झै संयोजक धामीले पनि झुट बोले । धामीले आफैले बोलेको कुरा चार महिनासम्म पुरा गर्न नसक्दा उनको उक्त भनाई पनि झुटको खेतीमा परिणत भएको छ ।
पर्खाल त के महोत्सवको आयव्यय सार्वजनिक नगर्दै सभागृह नबन्ने गरी सरकारसँग भएको सम्झौता खारेज भएपछि हरेक वर्ष नागरिकलाई झुक्याउँदै महोत्सव आयोजना गरिरहेको संघले गत वर्ष पनि सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै प्रादेशिक महोत्सव–२०७५ आयोजना गरेर अध्यक्ष बैश्य लगायतका केही व्यक्तिले राम्रै आम्दानी गरेको खुलासा भएको छ ।
मेला महोत्सवको रकम अध्यक्ष बैश्य लगायतका केही संघका पदाधिकारीले आफनो व्यापार व्यवसायमा लगानी गरेको संघ निकट स्रोत बताउँछन् । सभागृहका लागि भन्दै महोत्सव आयोजना गरेर मोटो रकम कुम्ल्याएका वर्तमान नेत्ृवका केही व्यक्तिहरुकै कारण सभागृह नबन्ने भएको संघ स्रोतले बताएको छ ।
सफल नै नहुने प्रोजेक्ट अघि सारेर त्यसैको नाममा जनतालाई झुक्याउदै पैसा उठाउँदै अवैधानिक रुपमा बैश्य नेतृत्वले ठगी गरिरहेको व्यवसायीको भनाई छ ।
नेपालगन्ज–१, धम्बोझी निवासी कृष्णबहादुर खड्काले भने, ‘सभागृह भन्दै रकम उठाउने र हिनामिना गर्दा स्थानीय प्रशासन मुकदर्शक बन्नु हाँस्यास्पद हो । संघको आर्थिक हिनामिनामाथि स्थानीय प्रशासनले तत्काल चासो देखाउनुपर्छ । छानविन गरेर कारबाही गरिनुपर्छ ।’
आर्थिक अपारदर्शीतामा लिप्त वर्तमान नेतृत्वकै कारण सभागृह गुमेको छ । वर्तमान नेतृत्वले सभागृह भन्दै हरेक वर्ष मेला लगाउँदै सर्वसाधारणलाई ठग्ने अनि आफू मालामाल बन्ने काम गरिरहेको व्यवसायी नै बताउँछन् ।
यसअघि लगाइएका मेला, महोत्सवमा संकलित रकम कहाँ, कति र कसरी खर्च भयो र कसरी राखिएको छ भन्नेबारे अहिले पनि रकम प्रदान गर्ने दाताहरूलाई समेत जानकारी छैन । विगतको हरहिसाब अस्तव्यस्त भएकै बेला सभागृहको सम्झौता पनि रद्द भएको छ ।
शहरी विकास मन्त्रालयले बहुउद्देश्यीय सभागृह निर्माणका लागि सडक डिभिजन परिसरको जग्गा नेपालगन्ज उद्योग वाणिज्य संघसँग भएको ‘लिज’ सम्झौता तोडेको छ ।
यसको जिम्मेवारी अध्यक्षले लिनुपर्छ,’ कार्यसमितिकै एक पदाधिकारीले भने । तर, अध्यक्ष बैश्य भने आफूलाई यस बारेमा जानकारी नभएको भन्दै पन्छिएका छन् । यसैगरी संघका उपमहासचिव तारा कुमारी रोकायले सभागृहको सम्झौता खारेजका बारेमा आधिकारिक रुपमा संघमा कुनैपनि पत्र नआएको बताएकी छन् । उनले यस विषयमा कानून ब्यवसायीहरुसंग बहस तथा छलफल चलाईरहेको जानकारी दिइन् ।
उनले प्रादेशिक लगायतका मेलामहोत्सवको आर्थिक आयब्यय सार्वजनिक गर्नुपर्ने बताएकी छन् । उनले भनिन्–‘सोमबार मात्रै यही विषयमा मैले संघमा कुरा उठाएकीछु । तर, अध्यक्ष लगायतका केही साथीहरु हरहिसाव सार्वजनिक गर्नेतर्फ गम्भीर नहुँदा समस्या देखिएकोछ ।’