बर्दिया:सरकारद्वारा प्रतिबन्ध गरिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा आक्रमक बनेकोछ । राज्य विरुद्ध उत्रेकोे विप्लब नेतृत्व नेकपा पछिल्लोसमय आक्रमक बन्दै सरकारी कार्यालयलाई आफ्नो निशाना बनाइरहेकोछ ।
सरकारले विप्लव समूहलाई कारवाही गर्ने चेतावनी दिदँै वार्तामा आउन निर्देशन दिएको हप्ता दिन नपुग्दै आक्रमक बनेको हो ।
असार १९ गते सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने भन्दै कडा चेतावनी दिएको चार दिनमै आक्रमक बनेको पाइएको छ ।
विप्लव समूहले बर्दिया गेरुवा गाँउपालिका वडा नम्बर ६ को वडा कार्यालयमा आगजनी गर्दै आक्रमक बनेको हो । विप्लव समूहले वडा कार्यालयमा आगो लगाउँदा कार्यालयका सम्पूर्ण कागजात तथा सामान जलेर नष्ट भएकोछ ।
बर्दिया गेरुवा गाँउपालिका वडा नम्बर ६ को वडा कार्यालयमा विप्लव समूहले सोमबार राती १२ बजे आगो लगाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए ।
वडा कार्यालयमा विप्लव समूहले आगलागी गरेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । प्रवक्ता महराले ‘आगजनीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने भौतिक सामाग्री पनि जलेर खरानी भएको बताए ।’
वडा कार्यालयको लेखाफाँटलाई लक्षित गरि गरिएको आगजनीले कागजपत्र सवै जलेर नष्ट भएको छ । उनीहरुले थप दुईवटा कोठामा पनि आगजनि गर्दा भौतिक संरचनाहरु जलेर नष्ट भएको बर्दिया प्रहरी प्रवक्ता महराले बताए ।
आगजनी गरिएको वडा कार्यालयबाट चन्द निकट भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्छ।
विप्लव समूहद्वारा गरिएको आगजनिको १५ घण्टा बढि वितिसक्दा पनि प्रहरीले उनीहरुलाई पक्रन सकेकोछैन । यद्यपी बर्दिया प्रहरी प्रवक्ताले सेतोखरीसंग कुरा गर्दै भने –‘आगजनी गर्नेहरुको खोजी भइरहेको छ, उनीहरु लुक्न र भाग्न सक्ने संभावित नाकाहरुको पहिचान गरि खोजी कार्यलाई तिव्रता दिएका छौं ।’
यसैबीच, गेरुवा गाउँपालिकाको ६ नम्बर वडा कार्यालयमा विप्लवले लगाएको आगो निभाउने क्रममा ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक यमबहादुर मल्ल गम्भीर घाइते भएका छन् ।
आगो निभाउने क्रममा छत ढलेर उनको टाउको र ढाडमा चोट लाग्दा मल्ल गम्भीर घाइते भएका हुन् । मल्लको करङ भाचिनुका साथै टाउकोमा गम्भीर चोट समेत लागेकाले उपचारका लागि नेपालगन्ज पठाइएको थियो ।
नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारार्थ मल्लको यतिबेला होस् आएको र स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता मदनजीत महराले सेतोखरीलाई बताए ।