नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

नेपालगन्ज ३१ भदौ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको एक औपचारिक कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), पर्यटनमन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ लगाएतको सहभागीता रहेको थियो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाईएको हो । ट्रफिका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् ।

यस्तै ट्रफिलाई श्याम तुलाधारले बनाएका हुन् । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

अब नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पु¥याईने छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टूर कार्यदल गठन गरेको छ । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य छन् ।

ट्रफी आज(शुक्रबार) सुदूरपश्चिम पठाइने र शनिवार बिहान ८ बजे धनगढी रंगशालामा सार्वजनिक गर्ने, असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते बागमती प्रदेश हेटौंडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जंगी अड्डामा असोज ७ गते बिहान १० बजे, प्रदेश १ को विराटनगर रंगशालामा असोज ८ गते, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्शालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते, कर्णाली प्रदेशको सुर्खेत रंगशालास्थित सेमी कभर्डहलमा असोज ११ गते, मधेस प्रदेशको रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र गण्डकी प्रदेशमा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशमा भने पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पु¥याइनेछ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरि ११ टिमले सहभागीता जनाउने छन् ।