नेपालगन्ज ३ असोज : संविधानको प्रभावकारी कार्यान्वयन भए संविधान दिवसको सार्थकता रहने बाँकेका कानून ब्यवसायी तथा अधिकारकर्मीले बताएका छन् ।
संविधान दिवसका सन्दर्भमा नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागीहरुले संविधानको सबैले सम्मान र पालना गर्नु पर्ने बताएका थिए ।
मानव अधिकार सञ्जाल नेपालगन्ज, पिआईएल कानून ब्यवसायी समुह, कानून पत्रकार समुह बाँके, मानव अधिकार संगठन, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र लगायतको आयोजना तथा इन्सेकको समन्वयमा भएको ‘सविंधान कार्यान्यवनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी र कानून ब्यवसायीहरुले संविधानमा भएका मौलिक हकको कार्यान्वयन, आधारभुत मानव अधिकार संरक्षणमा राज्यका निकाय गम्भीर हुनु पर्नेमा जोड दिएका थिए ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख झंकर बहादुर रावल, नेपाल मानव अधिकार संगठनका बाँके अध्यक्ष प्रह्लाद बहादुर कार्की, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभातकुमार ठकुरी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, द्वन्द्व पीडित तथा एकल महिला संजालका जयन्ती केसी, अधिकारकर्मी रबिन्द्र कर्ण, पत्रकार मधु पौडेल लगायतले संविधानमा उल्लेखित हक अधिकारहरुको सबैले उपभोग गर्न पाउनु पर्नेमा जोड दिएका थिए ।