घर–घरमा वैदिक विधिपूर्वक घटनस्थापना गरिदैं
File Photo
नेपालगन्ज १० असोज : कोरोना तथा डेंगुको कहरकाबीच नेपालीहरुको महान चाड बडादशैँ सोमबार (आज)बाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं शुरु भएको हो । दशैंको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदैछ । यही दिनदेखि नवरात्र शुरु हुन्छ ।
नवरात्रमा दुर्गा स्तोत्र (सप्तसति चण्डी) पाठ गरी शक्ति स्वरुपा दुर्गाको स्तुती गरिन्छ । लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौं, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाईन्छ । बडा दशैँको पहिलो दिन आज घर–घरमा बैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जांै (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।
जौंको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव (जमरा) रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौं बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधी नभएको धर्मशास्त्रविद बताउँछन् । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । यस वर्ष घटस्थापनाका लागि असोज १० गते बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको छ ।
असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आईतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ ।
असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आईतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर–घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।
दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
नवरात्र भनेर समेत चिनिने दशैँ विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । कोरोनाका कारण दुई वर्षदेखि नवरात्रका अवसरमा नेपालगन्जको रामलिला मैदानमा १५५ वर्षदेखि गरिदैँ आएको रामायण सम्बन्धि नाटक रामलीला मञ्चन गरिन लागेकोछ । यसअघि प्रतिकात्मकरुपमा विशेष पूजापाठ गरिदैं आएको थियो ।