यी चर्चित अनुहार जसको उम्मेदवारी खारेजीमा पर्‍यो


यी चर्चित अनुहार जसको उम्मेदवारी खारेजीमा पर्‍यो

गुलरिया(बर्दिया) २६ असोज : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी उम्मेदवारी दर्ता गराएका केहि चिरपरिचित अनुहारको उम्मेदवारी खारेजी भएको छ ।

बर्दियाको क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाका लागी नागरिक उन्मुक्ति पार्टिबाट उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको उम्मेदवार खारेज भएको छ ।

२०७२ साल भदौमा कैलालीको टिकापुर घटनाका मुख्य योजनाकार रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको फैसला गरेका कारण हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी माथी एक नाबालक सहित ९ जना प्रहरीको हत्या गरेको आरोप लागेको छ ।

चौधरीको मुद्धा हाल सर्वोच्च अदालतमा रहेको छ । तल्लो तहका दुवै अदालतले सजाए सुनाएको अवस्थामा उम्मेदवार बन्न नपाउने भएका कारण उनको उम्मेदवारी खारेज गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बर्दिया क्षेत्र नम्बर– २ बाट वारीस मार्फत उम्मेदवारी दर्ता गराएका रेशमको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालय राजापुर बर्दियाका प्रमुख नगेन्द्र लम्सालले बताए ।

अब सो क्षेत्रमा रेशमको बुवाले चुनाव लड्ने भएकाछन् । रेशमका बुवा लालवीर चौधरीले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पार्टीले उनलाई समर्थन गर्ने भएको छ ।

२०७२ सालमा भएको टिकापुर हत्या काण्डपछि फरार रहेका रेशमले २०७४ सालमा भुमिगत अवस्थाकै बेला निर्वाचन जितेका थिए । निर्वाचन जितेपछि आत्मसमर्पण गरेका उनलाई अदालतले पुर्वक्षका लागी थुनामा पठाएको थियो ।

यसैगरी सोहि घटनामा संलग्न भएका कैलालीकै लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज गरिएको छ । थारु कैलालीको प्रतिनिधि सभा क्षेत्र नम्बर– ५ बाट नागरिक उन्मुक्ति पार्टीबाट वारीस मार्फत उम्मेदवारी दर्ता गराएका थिए ।

थरुहट आन्दोलका क्रममा कैलालीको टिकापुरमा २०७२ सालमा भएको हिंसात्मक आन्दोलनको दोषि ठहर गरी उच्च अदालत दिपायलले लक्ष्मणलाई कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाए सुनाएको थियो । त्यसयता थारु फरार छन् । 

लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि उनको स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका धनगढी उपमहानगरपालिका–४ का जगदीश चौधरील लड्ने भएकाछन् । स्थानीय स्तरमा राम्रो छवि बनाएका जगदीश अवकाशप्राप्त कर्मचारी हुन् ।

यस्तै अर्को चर्चित अनुहार हो रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका नेता राजु गुरुङ्ग । उनको पनि उम्मेदवारी खारेज भएको छ ।

उनलाई चेक अनादरसम्बन्धि मुद्धामा काठमाण्डौं जिल्ला अदालतले जरिवाना गर्ने फैसला गरेको थियो । गुरुङ्गले उक्त जरिवाना भुक्तान नगरेको विषयमा निर्वाचनको अधिकृतको कार्यालयमा उजुरी परेको थियो । सोही आधारमा उनको उम्मेदवारी खारेजीमा परेको हो ।

सोहि निर्वाचन क्षेत्रमा डाक्टर कमल भुसाल ‘निकोलेस’को पनि उम्मेदवारी खारेजीमा परेको छ । उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीमाथि नेपाल सरकारको छात्रबृद्धि कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेको र सरकारबाट आर्थिक लाभ लिइरहेको उजुरीका आधारमा उम्मेदवारी खारेजीमा परेको हो ।

सो क्षेत्रमा गठबन्धनकोतर्फबाट उम्मेदवार बनेकाको र अर्का नाम चलेकाको उम्मेदवारी खारेज भएपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडललाई निर्वाचन जित्न सहज हुने बताइएको छ ।