नेपालगन्ज २७ असोज : मोहम्मद ईस्तियाक राईसहित ४ मन्त्रीलाई बर्खास्त गरिएकोछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारैजना मन्त्रीलाई बर्खास्त गरेका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई बिहीबार पदमुक्त गरेकी छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल सहमति गरेसँगै मन्त्रीहरु बर्खास्तीमा परेका छन् ।
प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका हुन् ।
जसपाबाट उनीहरु गत असार २० गते मन्त्री भएका थिए । जसपाले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुलाई त्यसबेला सरकारमा पठाएको थियो ।
त्यसैगरी २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका छन् ।
प्रधानमन्त्री देउवाले उनी बिदा भएपछि कानून मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।
थप समाचार