नेपालले जित्यो टी–२० सिरिजको उपाधि


नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नेपालगन्ज: नेपालले मलेसियाविरुद्धको दुई खेलको अन्तर्राष्ट्रिय टि–ट्वान्टी सिरिज जितेकोछ । नेपालले मलेसियालाई ६ रनले पराजित गर्दै सिरिज जितेको हो ।

किनररा ओभलमा नेपालले मलेसियालाई जितका लागि दिएको १ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो ।

उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् । यो साझेदारी टुटेपछि मलेसिया दबावमा आयो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १–१ विकेट हात पारे ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १सय ७३ रन बनाएको थियो ।

नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषवाकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।