नेपालगन्ज ३० असोज :निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन बाँकेका सञ्चारकर्मी र पर्यवेक्षकहरुले प्रतिबद्धता जनाएकाछन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले आईतबार आयोजना गरेको स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सञ्चारकर्मी र पर्यवेक्षकहरु बीच अन्तरकृयामा उनीहरुले प्रतिबद्धता जनाएका हुन् ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउन सञ्चारकर्मी र पर्यवेक्षको भुमिका महत्वपुर्ण रहने भन्दै निर्वाचन आचरसंहितामा रहेर पदीय जिम्मेवारी र दायित्व निर्वाह गर्ने बताए । पत्रकार लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटरले भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन कल्पनाको विषय भएपनि यसलाई क्रमशः सुधार गर्दै लैजानु पर्नेमा जोड दिए ।
अहिले निर्वाचनको आचारसहित पार्टी तथा अन्य पार्टी सर्मपित व्यक्ति वा संघ संस्थाबाट भैरहेको हुँदा यसलाई निर्वाचन पर्यवेक्षक र सञ्चारकर्मीले बाहिर ल्याउनु पर्ने बताए ।
बरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठले निर्वाचनको बेलामा यस्ता विषय उठ्नु स्वभाविक भएको बताउँदै निर्वाचन पर्यवेक्षक र सञ्चारकर्मीले कुनै पार्टीप्रति झुकाव नराखी निष्पक्ष तरिकाबाट पदीय जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्ने आग्रह गरे ।
यस्तै इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले निर्वाचनलाई निष्पक्ष स्वच्छ र भयरहित तरिकाले सम्पन्न गर्नका लागी निर्वाचन पर्यवेक्षक र सञ्चारकर्मीको भुमिका महत्वपुर्ण भएको हुँदा आ–आफनो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए ।
सोक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी द्वारीका अधिकारी, नियोकका लुम्बिनी प्रदेश संयोजक सुरेश गौतम, जियोकका बाँके जिल्ला संयोजक पदम पाण्डे, अधिकारकर्मी प्रभात ठकुरी, कमला पन्त, अधिवक्ता वसन्त गौतम, पत्रकार जे पाण्डे, अर्जुन ओली, क्षितिजा जिएम लगायतले निर्वाचन आचारसंहिताको दायाराभित्र रही पदीय जिम्मेवारी र दायित्व निर्वाह गरे निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सकिनेमा दुविधा नरहने बताएका थिए । यसका लागि उनीहरुले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका खेल्न समेत अपील गरेका थिए ।
उनीहरुले दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन आग्रह गरे ।
यसैबीच, यसअघि बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराको संयोजकत्वमा बाँकेमा जिल्ला आचारसंहिता अनुगमन समिति गठन भएको छ ।
शनिबार भएको समन्वय बैठकमा समितिले आचारसंहिता उल्लघन सम्बन्धी उजुरीको ढाँचा उपलब्ध गराउँदै आचारसंहिता उल्लघन भएमा उजुरी गर्न आग्रह गर्दै केही उम्मेदवारले नगरका बिभिन्न स्थानमा राखिएका तुल हटाउन निर्देशन दिने र नहटाएमा कारबाहीको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
मुख्य निर्वाचन अधिकृत महरा संयोजक रहने अनुगमन समितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री सहसंयोजक रहेका छन् । सदस्य सचिवमा निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त र सदस्यहरुमा जिल्ला अनुसन्धान अधिकृत नरेन्द्रराज गिरी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारी छन् ।