आम निर्वाचन २०७९

‘लालकिल्ला’मा कति सुरक्षित छन् प्रधानमन्त्रीका विश्वासपात्र राठौर


‘लालकिल्ला’मा कति सुरक्षित छन् प्रधानमन्त्रीका विश्वासपात्र राठौर

नेपालगन्ज ६ कार्तिक : आसन्न मंसिर ४ गते हुने प्रतिनधि सभा र प्रदेश सभा निर्वाचनका लागी सत्ता गठबन्धन दलका नेताहरुको चासो बाँके क्षेत्र नम्बर–३ मा पनि देखिएको छ । नेकपा एमालेको बलियो पकड रहेकाले ‘लाल किल्ला’को रुपमा परिचित यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर चुनावी मैदानमा छन् ।

धानमन्त्री एंव नेपाली काँग्रेसका विश्वासपात्र मध्येका एक राठौर बर्दियाबाट समानुपातिक सभासद रहका थिए । उनी यसपटक बाँके क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्दै छन् । त्यसो त बाँके तथा बर्दिया दुवै ठाउँमा घर भएका उनी बर्दियामै बसेर राजनीति गर्दै आएका हुन् । विद्यार्थी कालमा केही समय नेपालगन्जमा बिताएका राठौर अध्ययनका लागी काठमाण्डौ गएका थिए ।

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोइराला र उनको निर्वाचन क्षेत्र एउटै (बाँके क्षेत्र नम्बर– २) परेपछि उनले बर्दियाको अनकन्टार क्षेत्र(राजापुर)मा गएर त्यहाँबाट पार्टीको राजनीति गरेका थिए । स्थायी बसोबास बाँके रहेका उनी बर्दियाको विकट क्षेत्र राजापुरमा गएर शून्यबाट राजनीति सुरु गरे ।

कुनैपनि पार्टीका केन्द्रिय स्तरका नेताहरु जुनसुकै जिल्लामा गएर पनि चुनाव लड्ने नेपाली राजनीतिमा वर्षौदेखि चलिआएको छ । यद्यपी उनी आफु बाँकेबासी भएकाले बाँके क्षेत्र नम्बर–३ सगैं सिङ्गो बाँकेको विकास र उन्नतीका लागि राजनीति गर्ने बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तालमेलमा चुनावी मैदानमा उत्रिएको नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष एवम निर्वतमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकमाुर कक्षपति चुनावी मैदानमा छन् ।

जानकी गाँउपालिका, बैजनाथ गाँउपालिका, खजुरा गाँउपालिका र नेपालगन्ज उपमहानगर पालिकाका २ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दलले पाएको मतको संख्या हेर्दा गठबन्धनका उमेदवार बलियो छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले २५ हजार ६ सय ८९ मत प्राप्त गरेको थियो । भने नेकपा एमालले २२ हजार १ सय ५९, माओवादी केन्द्रको १४ हजार ८ सय १८, राप्रपाको ४ हजार ६ सय ४१, जसपाको ४ हजार १ सय ९९, नेकपा एकिकृत समाजवादीको २ हजार ३ सय ४८ र लोसपाको १ हजार ३७ मत छ । यसरी हेर्दा सत्ता गठबन्धनका किशोरसिंह राठौर १७ हजार मतले अगाडि देखिन्छन् ।

स्थानीय तहको नेतृत्वमा जानकी गाँउपालिका र बैजनाथ गाँउपालिकामा नेपाली काँग्रेस र खजुरा गाँउपालिकामा नेकपा माओवादीले प्रमुख जित्दा काँग्रेसले उपप्रमुख जितेको छ । २०७४ सालको स्थानीय तहका निर्वाचनमा यी ३ वटै पालिकामा नेकपा एमालले जितेको थियो ।

निर्वाचनमा यसै भन्न सकिने अवस्था छैन गठबन्धन दलका कार्यकर्ता र मतदाता ईमान्दार भए भने राठौर अत्याधिक भारी मतले जित्ने सम्भावन बलियो देखिन्छ । तर, सो क्षेत्रमा नेपाली काँग्रेसभित्र र माओवादीभित्र नै असन्तुष्टि देखिएपछि यसको फाइदा उठाउन एमाले अग्रसर देखिएको छ । यस्तो भन्दै गर्दा दलगत भोट क्रस हुने सम्भावना ज्यादै न्यून रहेको र त्यसले केही फरक नपार्ने काँग्रेस र माओबादीका नेता कार्यकताको मत रहेकोछ ।

नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य लडेका चन्तराम थारु अहिले नागरिक उन्मुक्ति पार्टीबाट उमेदवार बनेपछि काँग्रेसको केहि मत उनले काट्ने आँकलन गरिएको छ । गएको प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट उम्मेदवार भएका बादशाह कुर्मी यसपटक प्रदेश सभामा उम्मेवारी दिएका छन् । भने गएको प्रदेश सभा निर्वाचनमा पनि दुवै स्थान नेकपा एमालले जितेको थियो ।

यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका नेता दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेपछि गठबन्धन थप बलियो देखिएको छ । सुनार २०७० सालमा सोहि निर्वाचन क्षेत्रबाट नेकपा एमालेबाट निर्वाचन लडदै सांसद भएका थिए । सो क्षेत्रमा सुनारको ‘सिङ्गल’ प्रभाव रहेकोछ ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका नन्दलाल रोकाय ३१ हजार ६ सय १ मत ल्याउदै बिजयी भएका थिए । भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत ल्याएका थिए ।

२०७४ सालमा नेकपा एमाले र माओवादीको गठबन्धन रहेको थियो । अहिले नेकपा एमाले राप्रपासँग चुनावी तालमेल गरेको छ । भने सत्ता गठबन्धन तर्फ नेपाली काँग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टी गठबन्धन गरेर निर्वाचन लडिरहेका छन् । बाँकेमा ३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये यो निर्वाचन क्षेत्र पनि सबैको चासोको विषय बनेकाले कसले बाजी मार्छ त्यसका लागि मंसिर ४ सम्म कुर्नै पर्छ ।

थप समाचार

विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर