सीमामा नेपाली गाडीलाई निषेध, भारतीय गाडीलाई २४ सै घण्टा खुला


सीमामा नेपाली गाडीलाई निषेध, भारतीय गाडीलाई २४ सै घण्टा खुला

File Photo

नेपालगन्ज १७ कार्तिक : नेपालगन्ज भन्सार कार्यालय र जमुनाह प्रहरीले नेपाली साधन (गाडी) प्रति ‘निषेध’को ब्यवहार गरेको पाइएकोछ । भन्सार कार्यालय र प्रहरीसँगको मिलोमतोमा नेपाली सवारी साधनमाथि ‘निषेध’को ब्यवहार र भारतीय गाडीहरुलाई २४ सै घण्टा आउजाउमा ‘छुट’ गरेको पाइएको हो ।

नेपाल–भारत सीमा नाका राती १० बजेपछि पूर्णरुपमा बन्द गरिन्छ । सीमा नाका बन्द गरिएपछि सवारी साधन आउजाउ त परको कुरा पैदल यात्रुलाई समेत बन्देज लगाइन्छ । तर, प्रहरी र भन्सार कार्यालयको सेटिङ्गमा नेपाली सवारी साधनमाथि निषेध र भारतीय साधनलाई २४ सै घण्टा छुटको ब्यवहार गरिएको हो ।

प्रहरी र भन्सार कार्यालयको यस्तो ‘निषेध’को ब्यवहारका कारण नेपाली साधनलाई घडीको सुईले १० बज्नु अगाडी सीमा कटाउने चटारो हुन्छ । तर, त्यहीँ नेपालगन्जमा क्यासिनो खेल्न आएका भारतीय सवारी साधनलाई रातको १२ बजेपछि पनि ‘सेटिङ्ग’मा सहजै आउजाउ गर्न दिइएको पाइएको हो ।

रातको १० बजेलगत्तै सीमानाका जमुनाहमा राखिएको ब्यारियल झारेर ताला लगाइन्छ । प्रहरीले यसरी ब्यारियल तानेर ताला लगाएपछि नेपाली सवारी साधन नेपाल–भारत सीमानाका आउजाउ गर्न भोलीपल्ट ६ बजेसम्म कुर्नु पर्छ तर, क्यासिनो खेल्न आउनेहरुको गाडीहरु जुनसुकै समयमा ओहोरदोहोर गरिरहेका हुन्छन् ।

Kanti Aarogya Hospital Nepalgunj

जमुनाह प्रहरी र भन्सार कार्यालयबीच नेपालगन्जका क्यासिनो सञ्चालकबीच भएको ‘सेटिङ्ग’ले १० बजेपछि नेपाली सवारी साधनलाई ‘आउट’ भारतीय सवारी साधनलाई ‘मनमर्जी’ आउजाउ को ब्यवस्था मिलाइएको हो ।

नेपालगन्जमा खोलिएका क्यासिनोमा भारतका रुपैडिहा, बाबागञ्ज, बहराईच, लखनऊ र लखिमपुर लगायतका क्षेत्रबाट क्यासिनो खेल्ने ‘जुवाडे’ आउने गर्छन् । उनीहरु दिउँसो नेपालगन्ज प्रवेश गर्ने र राती अबेरसम्म जुवा खेलेर फर्किन्छन् । त्यसरी फर्किने भारतीय नागरिक भारतीय नम्बर प्लेटका सवारीसंगै निर्वाध फर्किने गरेका हुन् ।

रातको २–३ बजे होस् भारतीय गाडीहरुलाई न त प्रहरी, न त भन्सार कसैले पनि रोक्दैनन्, छेक्दैनन् बरु भारतीय नम्बर प्लेटको गाडी मध्यरातमै सीमामा पुगे हतारिदै ब्यारेलमा लगाइएको ताल्चा खोल्न प्रहरी पुग्छन् र निर्वाधरुपमा आउजाउ गराउँछन् ।

नेपाली गाडीलाई निषेध गरिएपछि भारतीय बजार रुपैडिहाबाट पैदलै विरामी आमालाई हिँडाएर जमुनाह नाकासम्म आएका नेपालगन्जका एक स्थानीयबासीले भने–‘भारतको लखनऊमा आमाको उपचार गराएर नेपाल फर्किरहेको थिए, रातीको १० बजेकै थिएन ब्यारिएल लगाएर बर्डर बन्द गरियो । थुप्रै नेपाली गाडी रुपैडिहामै रोकिए ।’

नेपालगन्जका ती स्थानीयबासीले सेतोखरीलाई भने–‘भारतीय सवारीसाधनलाई निर्वाधरुपमा आउजाउ गर्न दिइयो तर, नेपाली गाडीलाई रोकियो ।’

नियमअनुसार हरेक दिन विहान ६ बजेदेखि राति १० बजेसम्म नेपाल–भारत सीमा खुला रहन्छ । तर, सामान्यतया नेपालका सवारी साधन भारतीय बजार रुपैडिहादेखि केही किलोमिटरको दूरीसम्म जान पाउँछन् भने भारतीय सवारी साधन नेपालगन्जको राँझासम्म जान पाउने ब्यवस्थाछ ।

नेपालगन्ज भन्सार कार्यालयमा रोड पर्मिट र कति दिन नेपाल बस्ने हो त्यो विवरणसहितको राजस्व बुझाएपछि भारतीय गाडी नेपाल आउन पाउँछन् । एक दिनका लागि राजश्व बुझाएका ती भारतीय साधनले राजस्व तिरेको समयदेखि राति १० बजेसम्म नेपाल छोडिसक्नुपर्छ । तर, नेपालगन्ज भन्सार कार्यालय र जमुनाह प्रहरीको मिलेमतोमा रातिको समयमा क्यासिनोमा जुवा खेल्न आउने भारतीय र तीनका गाडीलाई २४ सै घण्टा आउजाउमा छुट दिइरहेका हुन्छन् ।

प्रायजसो भारतीय नागरिकहरु बेलुकी ७ देखि ९ बजेसम्म आफ्ना गाडीसहित नेपालगन्ज आउँछन र यहाँ क्यासीनोमा रमाइलो गर्ने र जुवा खेल्ने गर्छन् । यसरी जुवा खेलेर मदिरामा लठ्ठिएका उनीहरु मध्यरातको १–२ बजेपछि पनि नेपालको सीमा सहजै पार गर्छन् ।

यसरी रातिको समयमा भारत जान नपाइने व्यवस्था भएपनि भन्सार कार्यालय, प्रहरी तथा क्यासिनो सञ्चालकसँग अघोषित रुपमा मौखिक सहमति गरी मोटो रकम असुल्दै नेपाली सवारी साधनलाई निषेध गरि भारतीय गाडीलाई आउजाउ गराइरहेका छन् ।

नेपालगन्ज भन्सार कार्यालयमा भदौ महिनामा हाजिर भई काम सम्हालेका भन्सार प्रमुख नरबहादुर थापाले विहान ६ बजेदेखि राती १० बजेसम्म भारतीय नम्बर प्लेटका गाडिहरु ओहरदोहर गर्न पाउने गरेपनि राति १० बजेपछि जान नदिएको दावि गरे ।

उनले भारतीय गाडीलाई छुट र नेपाली गाडीलाई निषेधको ब्यवहार नगरिएको स्पष्ट पार्दै भने –‘कुनै अप्ठेरो परेको खण्डमा जान भने दिइएको हो तर, सेटिङ्गमै त्यसरी कसैलाई निषेध गरिएको भने होइन ।’

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले कहि कतै यो हल्ला सुनिएपनि सूचना नआएको हुँदा यस विषयमा आफुहरु चनाखो भएको बताए ।

प्रहरी र भन्सारको सेटिङ्गमा नेपाली गाडीलाई निषेध र भारतीय गाडीलाई निर्वाध आउजाउ गर्न नदिएको दावि गर्दै प्रहरी नायब उपरीक्षक घर्तीले भने–‘नियम र कानून सबैलाई बराबर हो । कार्यन्वयनको पक्षमा पक्षपात गरिएको छैन ।’