साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । विशेषगरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ । यो महिनामा लगाइने हरियो चुरा र पहिरनहरुको खासै धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ ।
त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहन्दी र हरिया लुगाको व्यापार पनि अघिल्ला वर्षहरुको तुलनामा बढ्दै गएका छन् । साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाक प्रतिको आकर्षण देखेर अहिले बजारमा साउन सुरुहुनु पहिले देखी नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाईन्छ ।
विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसनमय बनाएका छन् । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिड्ने महिलाहरु बिरलै देख्न पाइन्छ ।
वर्षा, प्रेम र झरीको सँगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागी अर्को महत्वको महिना हो । साउन लागेपछि बर्खा सकिएर चाडवाड पनि सुरु हुन्छ । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत बस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतीको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहि आएको छ ।
धार्मिक कथन अनुसार साउन महिनामा भगवान् कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको अति प्रिय महिना पनि साउन नै भएको हुनाले भगवान शिवलाई खुसी बनाउन साउन महिनामा शिवको बिशेष पूजा आराधना गर्ने र शिव मन्दिरहरुमा धाउने प्रचलन पनि छ ।
प्राकृतिक रूपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय दृश्य देख्न पाइन्छ । हरियो रंग, प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रूपमा पनि लिन सकिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो बस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न गरिन्छ । हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको प्रतीक हो भने पहेंलो पवित्रताको । त्यसैले हुन सक्छ साउन महिनामा हरियो, पहेंलो र रातो सम्मिश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रंग बस्यो उति नै श्रीमानको माया पाइन्छ भन्ने विश्वास छ ।
बदलिँदो परिस्थिति, परम्परा एवं पर्वहरूका स्वरूपमा परिवर्तन आएको छ । सोमबारको व्रत भावनाका अतिरिक्त रचनात्मक, केही प्रदर्शन र आधुनिकताको पर्याय बनेको छ । हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्पराको एक हिस्सा हो । श्रीमानप्रति प्रगाढ माया र पारिवारिक सुख दिने हुनाले हालको सन्दर्भमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि यो चाड मनाउन थालेका छन् । यसले महिलाहरूमा आपसी सद्भावना बढेको देख्न सकिन्छ । यो दाम्पत्य जीवनको खुसी र दीर्घायुका लागि गरिने व्रत हो । दाम्पत्य जीवनको खुसीका लागि श्रीमान–श्रीमतीबीच सामञ्जस्य एवं सद्भाव पनि उत्तिकै आवश्यक हुन्छ ।
नेपालगन्जमा साउन लाग्न नपाउँदै महिला हरियो, रातो र पहेँलो चुरा, पोते, मेहेन्दी लगाएर सजिएका थिए । पछिल्लो समयमा हरियो चुरा, मेहन्दी फेसन बनेको छ जसले बालिका, युवती, वयस्क सबै उमेर समुहका महिलामा हाबी छ ।
हरियो चुरा, मेहन्दीको ब्यापार बढ्यो
अरु समयमा यी कुराको महत्व नभएपनि साउनमा भने विशेष मानिन्छन् र महिला यीनैमा झुम्मिन्छन् । साउनमा चुरा व्यापारीलाई भ्याई नभ्याई हुन्छ । उनीहरु बिहानदेखि साँझसम्म चुराको कारोबार गरिरहेका भेटिन्छन् । बाटामा समेत हरियो चुरा, मेहन्दी राखेर बिक्रीगरिरहेको देख्न सकिन्छ । साउनलाई लक्षित गरि नेपालगन्जका विभिन्न स्थानमा चुरा, पोते, मेहेन्दी लगायतका सामाग्रीको राम्रो ब्यापार भएको ब्यापारीहरु बताउछन् । साउनको महिना सगै नेपालीहरुको चाडपर्वको सुरुवात हुने र ब्यापार ब्यवसाय पनि राम्रो हुने उनीहरुको बुझाईछ ।
अन्य दिन भन्दा साउनमा चुरा, टिकुली, मेहेन्दी, पोते, लुगालत्ता लगायतका सामाग्रीको विक्रि बढि हुने गरेको एकलैनीका चुराटिकुली ब्यापारी राजेश कनोजिया भन्छन्– ‘साउन लगत्तै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज हुने भएकाले यी दुई चाडका कारण ब्यवसाय बढि हुने गरेकोछ ।
साउनलाई लक्षित गरि नेपालगन्जका विशेषगरि एकलैनी, सदरलाईन, घरबारीटोल र बागेश्वरी मन्दिर परिसर लगायतका स्थानमा चुरापोते, टिकुली, मेहेन्दी लगायतको ब्यापार हुने गर्दछ । धर्मसंस्कृति र फेसनसगं जोडिएको साउने संक्रान्तिको आफ्नो छुट्टै महत्व र विशेषता छ नै किशोरीहरुका लागि फेसनका रुपमा यसले स्थान लिएपछि यसको महत्व झन बढेको हो । साउनमा हामी चुरा ब्यापारीलाई भ्याईनभ्याई हुने अर्का ब्यापारी बताउछन् । समग्र देशमै सस्तो र राम्रा डिजाईनका चुराहरु एकलैनी बजारमा मात्र पाईने उनको ठोकुवा छ ।
विगत ३० वर्षदेखि चुरा, टिकुली, पोतेको ब्यापार गर्दै आएका इस्माईल मियाँले बताए । साउन महिना महिलाहरुका लागि विशेष महत्व राख्दछ । यो महिना भर उनीहरु भगवान शिवको व्रत बस्ने गर्दछन् । साउनको पहिलो दिन नेपालगन्ज स्थित बागेश्वरी परिसरमा रहेको जुङ्गेश्वर महादेवको पुजाअर्चनामा भक्तजनको भीड लाग्ने गर्दछ ।
ब्यापारिहरु विशेष गरि यो महिना अरु सबै सामान थन्क्याएर हरियो, रातो, पहेँलो चुरा र पोतेमै फोकस हुन्छन् । खुद्राव्यापारी र ग्राहकलाई सामान दिन उनीहरुलाई भ्याइनभ्याइ हुन्छ । साउन चुरा व्यापारीका लागि दशैँ आएसरी नै हुन्छ ।
एकलैनीमा कस्मेटिक पसल चलाउने मीना लखेर अरुबेला चुरा धेरै नबिक्ने भएपनि यो महिना माग धेरै आउने बताउँछिन् । ‘अरुबेला खासै चुरा बेचिदैन । ग्राहक कम आउनेगर्छन् । तर साउनमा त हरियो चुरा नल्याए त कामै हुन्न । अरुबेला दैनिक एकदुई दर्जन विक्रि भए पनि अहिले ४०÷५० दर्जनभन्दा बढी बिक्छ ।’
त्यस्तै एकलैनीका अर्का ब्यापारि विगत ४ वर्षदेखि कस्मेटिक पसल संचालन गर्दै आएका राजु गुप्ता पनि सधैँ साउनमा आफ्नो पसलमा घुँइचो बढ्ने बताउँछन् । ‘म त साउन लाग्नुअघि नै सामान ल्याइसक्छु । यो समय धेरै बिक्ने हुनाले नाफापनि हुन्छ । साना बालबालिकादेखि बृद्धबृद्धासम्मले चुरा खरिद गर्ने गर्छन् । विवाहितले त चुरा प्राय लगाउँछन् नै, अहिले अविवाहित महिला विशेष गरि किशोरीले धेरै जसो चुरा किन्ने गरेका बताए ।
साउनमा हरियो चुराका साथमा राता, नीलो र पहेँलो चुरा मात्र नभएर पोते, मेहेन्दी लगाउने पनि चलन छ । चुरा पसलमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा मेहन्दी बेच्न र लगाइदिन बसेका व्यापारी थुप्रै भेटिन्छन् । नेपालगन्जका विभिन्न ब्यूटिपार्लरहरुमा मेहेन्दी लाउनेको घुँइचो देख्न सकिन्छ । नेपालगन्जमा चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाटै ल्याइने गरेको व्यापारी बताउँछन् ।
नेपालगन्ज बजारमा काँचका, प्लाष्टिकका, धातु (मेटल)का चुरा पाइन्छन् । पहिले पहिले काँचका चुराको प्रचलन बढी थियो भने अहिले आएर प्लाष्टिक र मेटलको माग बढेको छ । नफुट्ने र धेरै टिक्ने हुनाले यसको मागमा वृद्धि भएको ब्यापारिको भनाई छ ।
बजारमा अहिले बुट्टा र गुणस्तरको आधारमा सामान्य काँचको चुराको ३० रुपैयाँ प्रति दर्जन देखि १५० बढि रुपैयाँसम्म पर्छ । त्यस्तै प्लाष्टिक र मेटलका चुराहरु भने तुलनात्मक रुपमा महंगो हुने व्यापारी बताउँछन् । प्लाष्टिकका चुरा ५० रुपैयाँ प्रतिदर्जनदेखि २ सय रुपैयाँ प्रतिदर्जन सम्म पर्छ । नफुट्ने र धेरै टिक्ने हुनाले मेटलका चुराको मूल्य भने बढी नै रहेको छ ।
मेटलका चुराहरु दर्जनको हिसाबले भन्दापनि सेटमा आउँछन् । यस्ता सेट चुरा ६० रुपैयाँदेखि सुरु हुन्छ । सामान्य रुपमा बजारमा सादा काँचका चुरा ३० रुपैयाँ प्रति दर्जन र मेटलका डिजाइनदार चुरा १ सय रुपैयाँदेखि ५ सय रुपैयाँ सम्मका चुराको माग भएको व्यापारीको भनाइ छ । साउनको पहिलो दिन विशेष गरि यो पर्व मनाउने गन्छि ।
यस दिन खीर लगायता मिष्ठान पकवान बनाई परिवारमा बाँडेर खाने चलन छ । साउन महिनामा लुतो फाल्ने परम्परा भएकाले लुतो फाल्ने परम्परा रहेकोछ । साउने संक्रातिको सवैलाई शुभकामना ।