नेपालगन्ज:एकै परिवारका पाँच जनाको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले पाँच जना हत्या आरोपीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
२०६२ साल फागुन २३ गते बाँकेको नेपालगन्जमा सुन व्यापारी दीपक हेमकारको परिवारका पाँच जनाको हत्या गरी लुटपाट समेत भएको घटनाका मुख्य आरोपी मध्येका एक थिए– किशोरीलाल सोनी । सोनी मृतक दीपक हेमकरका ससुरा समेत थिए ।
२०६२ साल फागुन ११ गते नेपालगन्जको सदरलाइनस्थित आफ्नै घरमा सुन व्यापारी ३२ वर्षीय दीपक हेमकर, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकर, बुबा ६२ वर्षीय जगदेव हेमकर, आमा ४५ वर्षीया सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।
१४ वर्ष पुरानो उक्त हत्याकाण्डमा प्रारम्भिक चरणमै हत्या परिवारकै सदस्यबाट भएको हुन सक्ने निष्कर्ष प्रहरीले निकालेको थियो । तर, आरोपीहरु सबै भारतीय नागरिक भएकाले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाउन सकिएको थिएन ।
पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र बाँके प्रहरीको विशेष टोलीले आरोपी किशोरीलाल सोनीलाई भारतको लखनऊबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालत बाँकेमा हत्या तथा डकैतीको मुद्दा दायर गरेको थियो । सरकारवादी भएको उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २०७५ साल कात्तिक १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपि आरोपी किशोरीलाल सोनीले भने आरोप अस्वीकार गर्दै आएका थिए ।
त्यसपछि सोनी उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउन माग गरेका थिए । उच्च अदालत दाङको नेपालगन्ज इजलासले २०७५ साल पुस २६ गते जिल्ला अदालत बाँकेकै आदेशलाई सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर, त्यस आदेशविरुद्ध सोनीले २०७५ चैत ५ गते सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।
६ पटकको पेसी तारेखपछि गत असार २७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोनीको माग दावीअनुसार नै उनलाई साधारण तारेखमै छाड्ने आदेश दिएका हुन् । सर्वोच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेशमा ‘तत्काल प्राप्त प्रमाणबाट दोषी नदेखिएको’ उल्लेख गरेको छ । साथै ‘जिल्ला र उच्च अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी गरेको आदेश बेरितको देखिएको’ पनि सर्वोच्चको आदेशमा उल्लेख छ ।
सर्वोच्च अदालतबाट साधारण तारेखमै छाड्ने आदेश भएलगत्तै कार्यान्वयनको पत्र जिल्ला अदालत बाँके पुगेको थियो । त्यसलगत्तै आरोपी किशोरीलाल सोनी थुनामुक्त भई भारत पुगिसकेका छन् । नेपालगन्जका सुन व्यापारी दीपक हेमकर परिवारको हत्या उनकै आफन्तबाट भएको अनुमान गरिए पनि उचित आधार र प्रमाण भेटिएको थिएन । तर प्रहरीले विभिन्न टोली खटाएर हत्याबारे अनुसन्धान गरिरहेको थियो ।
घटनाको करिब ६ महिनापछि हत्यामा दीपककै श्रीमती दीपा सोनी, दीपकका ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको र सो कार्य गर्नका लागि उनीहरुले भारत सीतापुरका ३ जना हत्याराहरुलाई सुपारी दिएको पत्ता लगाएको थियो ।
प्रहरी अनुसन्धानकै क्रममा दीपककै श्रीमती दीपा सोनी र ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको तथ्यहरु फेला परेको थियो । यसबीच आरोपी दीपा सोनीले दीपकको नाममा रहेको घरसमेत बेचबिखन गरी भारतको लखनउ पुगिसकेकी थिइन् ।
करिब साढे २ वर्ष लामो अनुसन्धानपछि घटनामा संलग्नहरुको इतिबृतान्त पत्ता लगाई नेपाल प्रहरीले २०७५ साल असोज १३ गते सोनीलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो । तर सर्वोच्चको यस्तो निर्णयले बाँके प्रहरीको बषौं लामो अनुसन्धान र मेहनत खेर गएको छ ।