होसियार हुनुस् ! पत्रपत्रिकामा राखेर खानु प्राणघातक


होसियार हुनुस् ! पत्रपत्रिकामा राखेर खानु प्राणघातक

नेपालगन्ज : सहरबजार के गाँउघर आझैपनि खानेकुरा किताब, कापी, पत्रपत्रिका तथा कागजमा राख्ने चलन छ । चाडपर्वहोस् वा पुजापठ, जन्मउत्सव होस् वा विवाह पार्टी, पिकनिक होस् वा साथीभाईको जमघट अथवा आफन्तलाई कोसेली पठाउँदा होस् । धेरैको बानी पुराना किताब, कापी, पत्रपत्रिका र कागजकै प्रयोग गरिन्छ । त्यसैमा राखेर खानेकुरा खाईन्छ, दिइन्छ ।

एकप्रकारले यो नेपाली समाजको चलन नै भइसकेकोछ । अझ नेपालका सहरबजारमा यस्ता चलन गली–गली, चोक–चोकमा खुलेका स–साना पसलदेखि होटेलसम्म प्रयोग बढीरहेको छ । पसलेहरु निर्धक्क सामान बेचिरहेका हुन्छन् । र, हामीहरु वेप्रवाह सामान उपभोग गरिरहेका हुन्छौं ।

मिठाई होस्, वा अन्य खानेकुरा पत्रपत्रिका वा कागजमा राखेर खाने अहिले धेरैको बानी भइसकेकोछ । के गाउँ के सहर सवै ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाई लगायतका खानेकुरा कागजमै बेरेर दिने गर्छन् । अझ घरमा खाना प्याक गर्न पनि अखबार कै प्रयोग गरिन्छ । विशेषगरि तारेका, भुटेका खाद्य पदार्थको तेल अखबारले सोस्छ भनेर पनि अखबार तथा पुराना कापी, किताबमा ती बस्तु राख्ने गरिन्छ ।

यदि यस्तो बानी व्यहोरा तपाईले तुरुन्त परिर्वतन गर्नुभएन भने तपाईको स्वास्थ्य खतरामा पर्छ । यसरी पत्रपत्रिका, किताब र पुराना कागजमा राखिएको खाद्यपदार्थ हामीले सेवन गर्दा हाम्रो स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तो छ स्वास्थ्यमा पर्ने असर

अखबार, कापी, किताब र कागजको प्रयोग गरि सेवन गरिएका जुनसुकै खाद्यबस्तुले मानव स्वास्थ्यमा असर गर्छ । यो एक प्रकारको मन्द विष नै हो ।

यसरी प्रयोग गरिएका खाद्यबस्तुले मानव स्वास्थ्यमा असर गर्दै पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रोगको जोखिम बढाउँछ ।
यसका साथसाथै क्यान्सरजन्य रोगमा समेत बृद्घि हुन्छ । यस्ता खानेकुराले विशेषगरि बालबालिका, बूढापाका र विरामी मानिस बढी प्रभावित हुन्छन् । यस्ता ब्यक्तिहरुमा पहिलेदेखि नै रोगसँग लड्ने क्षमता कम हुन्छ ।

अखबार, किताब तथा कापीमा प्रयोग गरिएको मसीका कारण यो घातक बनेको हो । यस्ता मसीमा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन् । यी सबै रसायन मानव स्वास्थ्यका लागि निकै खतरनाक हुन्छन् ।

यिनको थोरै अंशले पनि तपाईं हाम्रो शरीरमा क्यान्सरजस्तो घातक रोग उत्पन्न गर्न सक्छ । अखबारमा राखिएका खाद्यपदार्थ सेवन गर्दा पाचन प्रणाली पनि प्रभावित हुन्छ । अखबारको मसीमा हुने रसायनले गर्दा हाम्रो पाचन प्रणालीमा प्रतिकूल असर पर्छ । अर्को कुरा, अखबारमा उपयोग गरिने मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । यसले गर्दा फोक्सो, मूत्राशयको क्यान्सर हुने जोखिम बढ्छ ।

छैन कानूनी प्रवधान

यो अभ्यासलाई रोक्न नेपालमा कुनै कानूनी व्यवस्था भने हालसम्म गरिएकोछैन । सामान्य लाग्ने यो बानीले मानव स्वास्थ्यमा ठूलो नकरात्मक असर पर्ने हुदाँ यसप्रति सजग र सचेत बन्न सरोकारवाला बताउँछन् ।

तर, हाम्रो छिमेकी राष्ट्र भारतमा त्यहाँको सरकार यसप्रति निकै गम्भीर भएको छ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (ईएफएसएसएआई) ले हालै जनचेतनामुलक सन्देश जारी गर्दै अखबार, कागजजन्य बस्तुमा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि खतरनाक बताउँदै भारतीय नागरिकलाई यसप्रति सचेत गराएको हो ।

अखबारलाई थालका रूपमा उपयोग गर्दा क्यान्सर लगायत विभिन्न प्राण घातक रोग लाग्ने खतरा बढ्छ । कुनैपनि कागजजन्य बस्तुमा खाद्यवस्तु राखेर उपभोग नगर्न जन स्वास्थ्य तथा वातावरण प्रर्बद्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साह बताउँछन् ।

‘कागज आफैमा केमिकल युक्त हुन्छ । अझ विशेष गरि अखबार, किताबका लागि तयार पारिएका कागजहरुमा रसायनहरु हुन्छन् । यस्ता रसायनहरुले मानव स्वास्थ्यलाई असर गर्छ ।’ निर्देशक साहले भने –‘अखबारमा प्रयोग गरिने मसीमा लेड नामक विषाक्त रहने भएकाले यसको उपयोग झन प्रणाघातक हुन्छ ।’
हामीले चटपटे खादाँखादै प्रयोग भएको कागज, अखबारको अक्षरहरु पनि खाएका हुन्छौं । सामान्य लाग्ने यस्ता कुराले हाम्रो स्वास्थ्य जोखिममा परिरहेको उनी बताउँछन् ।

साहले सकेसम्म हामीले अखबारजन्य कागज तथा पलाष्टिकको प्रयोग गर्नुहुदैंन । यसको विकल्पमा पात, बाँस र काठको प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् ।