ब्ल्याकमेलिङ् गर्न खोजेको आरोपमा पक्राउ परेकाहरु । तस्विर: दाङ प्रहरी
नेपालगन्ज २६ मंसिर : ब्ल्याकमेलिङ् गर्न खोजेको आरोपमा दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेकोछ ।
यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ् गर्न खोजेको आरोपमा दाङ प्रहरीले एक पुरुष र दुई महिलासहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार मोटो रकमको डिल गर्दै गर्दा घोराहीको एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
एसपी ओलीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर उपमहनागरपालिका– १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णि कुमारी बस्नेत, गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेका छन् ।
पक्राउ परेका उनीहरूले तुलसीपुरका एक जना व्यवसायीलाई ‘ब्ल्याकमेलिङ्’ गर्दै मोटो रकम मागेको र नदिए बलात्कार मुद्दा हाल्ने भनेर धम्की दिँदै आएका थिए ।
ती पीडित व्यवसायीले आफूलाई यौन सम्बन्धको प्रस्ताव राख्दै ब्याकमेलिङ् गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले घटनाको मतियारको रुपमा अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले भने –‘अनुष्कासँग दुई वटा नेपाली नागरिकतासमेत रहेको पाइएकोछ ।’
पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दर्ता गरि घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउँदै दाङ प्रहरी प्रवक्ता गौतमले म्याद थपेर १० दिनदेखि उनीहरूलाई प्रहरी हिरासतमा राखिएको बताए ।