नेपालगन्ज २६ मंसिर : नेपालगन्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टका लागि नेपथ्य व्याण्डसहितको टोली नेपालगन्ज आइपुगेको छ ।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रमले नेपालगन्ज रंगशालामा गर्न लागेको मानवताका लागि सांगीतिक यात्रा कन्सर्टका लागि टोली सोमबार साँझ यहाँ आइपुगेको हो ।
नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङ, किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोली रहेको छ । नेपथ्य लाईभ कन्सर्ट मूल समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, दानवीर एवं जग्गादाता जैकेश सिंह, आश्रमकी केन्द्रीय सदस्य सीर्जना ओली लगायतको टीमले टोलीलाई खाँदा र रुद्राक्षमालासहित स्वागत गरेको थियो ।
सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नु हुनेछ ।
कन्सर्टका लागि टिकट विक्रीसँगै अन्य तयारी पनि तिव्र पारिएको संयोजक श्रेष्ठले जानकारी दिए । भोली(मङ्गलबार)देखि मञ्च व्यवस्थापन लगायतको कार्य अगाढी बढाइने सुरक्षा तथा समारोेह स्थल व्यवस्थापन समितिका संयोजक जयनारायण शाहले जानकारी दिए ।
आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
दानवीर एवं समाजसेवी जैकेश र सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर– ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया शुरु हुन लागेको छ ।
सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–१० मा घर भाडामा लिई सेवा सञ्चालन गरिरहेको छ ।