नेपालगन्जलाई ‘लु’ प्रतिकार्य योजना हस्तान्तरण


नेपालगन्जलाई ‘लु’ प्रतिकार्य योजना हस्तान्तरण

नेपालगन्ज २८ मंसिरः नेपालगन्ज उपमहानगरपालिकालाई ‘लु’ प्रतिकार्य योजना हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झनाले नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईलाई ‘लु’ प्रतिकार्य योजना २०२३ हस्तान्तरण गरेका हुन् ।

फिनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्जका २३ वटै वडामा ‘लु’ परियोजना (Heat Wave Project) सञ्चालन गरेको छ ।

मुलुकमै पहिलोपटक ‘गर्मी प्रभावित सहर नेपालगन्ज’ मा २०२१ देखि यो कार्यक्रम शुरु गरिएको हो । ‘लु’ चलेको समय, ‘लु’ पूर्व र ‘लु’ पछिको अवस्थामा गर्नुपर्ने कार्यहरु समेटेर तत्कालीन र दीर्घकालीन योजनाहरु तयार गरिएको छ । नेपालगन्जको सन्दर्भमा ६ वा त्यो भन्दा बढी दिनसम्म लगातर ३८ डिग्री सेल्सियस भन्दा माथि तापक्रम रहिरहेमा ‘लु’ चलेको मानिन्छ ।

कार्यक्रममा बोल्दै कार्यबहाक नगर प्रमुख राईले ‘लु’ प्रतिकार्य योजना नेपालगन्ज उपमहानगरपालिका र २३ वटै वडाहरुका लागि मार्गदर्शकका रुपमा रहने भन्दै त्यसै अनुरुप कार्यान्वयन पक्षलाई मजबुत बनाउन प्रतिबद्ध रहने बताए । उनले ‘लु’ नेपालगन्जको प्रकोपका रुपमा रहेको बताउँदै दीर्घकालीन योजना स्वरुप हरियाली प्रबद्र्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोबद्र्धनसिंह सम्झना, रेडक्रसका उपनिर्देशक दोलखबहादुर डाँगी, फिनिस रेडक्रसकी प्रतिनिधि कल्पना रिजाल, वडा नम्बर–२ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, भेरी अस्पतालका चिकित्सक डा.लक्ष्मण सिग्देल लगायतले ‘लु’ लाई प्रकोपका रुपमा बुझ्दै यसबाट जोगिन पूर्व तयारी र सचेतना जरुरी रहेको बताए । यससंग जुध्न तत्कालीन र दीर्घकालीन कार्ययोजनाका साथ अघि बढ्नुपर्ने सुझाए ।

‘लु’ परियोजनाकी परामर्शकर्ता आश्मा सुवेदीले प्रतिकार्य योजनाका विषयमा प्रस्तुतिकरण गरेको कार्यक्रमको सहजीकरण रेडक्रसका झबिलाल शर्माले गरेका थिए । कार्यक्रममा रेडक्रस बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति थियो ।