नेपालगन्ज २८ मंसिर : बाँकेका किसानलाई ढिलै भए पनि केही राहत हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने भएपछि बाँकेका किसानलाई राहत हुने भएको हो ।
सरकारले तोकेको भन्दा ८ सय रुपैयाँ कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका किसानलाई यसले ढिलै भएपनि केही राहत दिनेछ । कार्यालयले मोटा धान पाँच हजार क्विन्टल खरिद गर्नेछ भने २० हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी परिपत्र आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।
उनले केन्द्रबाट ढिलो गरी परिपत्र आएकोले अब केही दिनबाटै धान खरिद सुरु गरिने बताए । सरकारले आर्थिक वर्ष २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपियाँ तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपियाँ तोकेको छ । तर, किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुवै धानमा करिब ८ सय रुपियाँ क्विन्टल कम मूल्यमा धान बिक्री गर्दै आएका थिए।
सरकारले तोकेको समर्थन मूल्य अनुसार नै धान खरिद गर्ने खाद्य व्यवस्था कार्यालयका प्रमुख लामिछानेले बताए । धान खरिदमा ढिलाइ गरिँदा मूल्य नपाएपछि अखिल नेपाल किसान सङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसी र नेपाल किसान सङ्घका केन्द्रिय सदस्य धनमाया लुइँटेल रिचाले संयुक्त रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगी किसानको धान छिटो खरिद गर्न ज्ञापन पत्र बुझाएकाछन् ।
गत वर्ष कम्पनीले २३ सय क्विन्टल मात्र धान खरिद गरेको थियो । तर, यस वर्ष भने २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएको छ । अहिले खरिद गर्न लागेको धान पनि ५ प्रतिशत किसानलाई नसमेट्ने हुँदा थप धान खरिद गर्न पर्नेमा किसानहरूको माग छ ।
एकदमै ढिला गरी धान खरिद गर्ने निर्णय गरिएको र त्यसमा पनि विभिन्न बाधा अवरोध कायम गरिने हुँदा किसानको बिचल्ली हुने किसानको गुनासो छ । हाल खाद्य व्यवस्था कार्यालयमा रहेका ३ गोदाममध्ये एक गोदाममा पुरानो चामल छ । गोदाम खाली गर्ने काममा लागेको कार्यालय प्रमुख लामिछानेले बताए ।