नेपालगन्ज १ पुषः भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाको सिभिल संरचना (हेडवक्र्स), पावर हाउस तथा सर्ज साफ्ट निर्माणमा अनुमानित लागतभन्दा ३५ प्रतिशत कम रकममा कबोल गरेर ठेक्का पाएको ग्वाङडोङ युवाङटेयरिङ–रमण जेभीले निर्माणमा आलटाल गर्दै आइरहेको छ ।
ग्वाङडोङ युवाङटेयरिङ–रमण जेभीले ठेक्का सम्झौता अनुसार यो आयोजनाको निर्माण आगामी २०८० साउन २९ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म यो परियोजनाको भौतक प्रगति भने ४० प्रतिशत मात्रै पुगेको छ । जबकी ठेक्का सम्झौताको म्याद सकिन आठ महिना मात्रै बाँकी छ ।
बाँकी रहेको आठ महिनाको अवधिमा यो सकिने लगभग अनिश्चित जस्तै छ । आयोजनाले हेडवक्र्स सिभिल र सर्ज साफ्ट निर्माणको लागि अनुमानित लागत भ्याटबाहेक ११ अर्ब ५२ करोड ६१ लाख ३० हजार कायम गरेको थियो ।
ठेकेदार कम्पनीले भने भ्याटबाहेक ६ अर्ब १६ करोड ५२ लाख ५५ हजारमा ठेक्का पाएको थियो । हेडवक्र्स, पावरहाउस तथा सर्ज साफ्टको निर्माणको काम ४० प्रतिशत मात्रै भएको भेरीबबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए ।
उनले भने, ‘निर्माण कम्पनीले अनुमानित लागतभन्दा ३५ प्रतिशत कम लागतमा कबोल गरेर ठेक्का पाएको थियो, अहिले आयोजना निर्माणको काम अपेक्षित गतिमा भइरहेको छैन, ठेक्का सम्झौता अनुसार आयोजनाको म्याद सकिन आठ महिना मात्रै बाँकी छ तर निर्माण कम्पनीको प्रगति भने ४० प्रतिशत मात्रै भएको छ ।’
सरकारले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सेवा उपलब्ध गराउने भन्दै भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजना अघि सारेको थियो । सरकारले ०६८÷६९ मा भेरी–बबई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गर्दै १० वर्षभित्रै अर्थात् ०७९÷८० सम्म सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।
सो सिँचाइ आयोजनाबाट बाह्रै महिना सिँचाइ सेवा उपलब्ध गराउन भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेण्ड पानी बबई नदीमा खसालिने योजनासहित सुरु गरेको थियो । अहिलेसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ५८ प्रतिशत मात्रै रहेको छ । यसबाट ४६.८ मेगावाट बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ ।
सरकारले यो आयोजनाको लागि ३३ अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान गरेको छ । हालसम्म यो आयोजनामा १४ अर्ब रूपैयाँ खर्च भइसकेको छ ।