नेपालगन्जमा आगलागी नियन्त्रण गर्ने तरिका सिकाइँदै


नेपालगन्जमा आगलागी नियन्त्रण गर्ने तरिका सिकाइँदै

नेपालगन्ज ११ पुष : नेपालगन्जका टोलटोलमा घरेलु र विद्युतीय आगलागी नियन्त्रण गर्ने तरिका सिकाइँदैछ । वडा नम्बर ३ र ७ का कम्तीमा १० स्थानमा घरेलु र विद्युतीय आगलागी हुँदा कसरी नियन्त्रणमा लिने भन्ने बारेमा स्थानीयलाई सिकाउन थालिएको हो । स्थानीयकोे सक्रिय सहभागिता र चासो देखिएको अभिमुखीकरण र कृत्रिम अभ्यास कार्यक्रम प्रभावकारी देखिएको छ ।

यसैक्रममा सोमबार नेपालगन्ज–३ को एक्लैनी नजिकै घरेलु आगलागीका घटना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरणसंगै कृत्रिम घटना अभ्यास गराइयो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । यो परियोजना वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।

कृत्रिम घटना अभ्यासलाई चासोपूर्वक अवलोकन गरेका स्थानीयको कार्यक्रममा सक्रिय सहभागिता थियो । त्यसक्रममा ग्यास सिलिण्डर र चुलोमा हुने आगलागी, विद्युत सर्ट भएर लाग्ने आगो, तारहरुको व्यवस्थापन लगायतका विषयमा स्वयम् स्थानीयलाई अभ्यासमा सरिक गराएर कृत्रिम अभ्यास गराइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

कृत्रिम अभ्यासालाई अभिरुचीपूर्वक नियालिरहेकी स्थानीय सुवेदा फरहिनले आफूहरुले घरेलु आगलागी नियन्त्रण सम्बन्धि नयाँ कुरा सिकेर स्वयम् आफूहरुले कृत्रिम अभ्यास गर्न पाएको भन्दै खुसी ब्यक्त गरिन् । ‘आगलागी भएपछि हामीहरु आत्तिन्छौं, त्यसले पनि धेरै क्षती हुने गरेको अवस्था छ । तर, आजको सिकाईबाट नआत्तिएर सावधानीपूर्वक आगो नियन्त्रणमा लिन सकिन्छ भन्ने मनोबल बढेको छ,’ फरहिनले भनिन् ।

अर्का स्थानीय अनिता तिवारीले घरेलु आगलागी नियन्त्रणका बिषयमा धेरै नयाँ कुरा सिकिएको बताइन् । कृत्रिम घटना अभ्यास हेर्दाहेर्दै र आफैं त्यसमा सहभागी भएर घरेलु आगलागी नियन्त्रण गर्ने तरिका सिक्दासिक्दै डर त्यसै हराएको गएको तिवारीले बताइन् । उनले अभिमुखीकरण र कृत्रिम अभ्यास कार्यक्रम प्रभावकारी भएको उल्लेख गरिन् । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका विपत समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंहको पनि उपस्थिति थियो ।