बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्पः एकजनाको मृत्यु, ४० घर भत्किए


बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्पः एकजनाको मृत्यु, ४० घर भत्किए

नेपालगन्ज १० माघः बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ ।

गाउँ नजिकैको वनमा घाँस काटीरहेको बेला भूकम्पले जमिनै थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल गाउँपालिका– २ अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले, बडिमालिका नगरपालिका वडा नम्बर–७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किएको बताए ।

उनले योसँगै बाजुराका अधिकांश नयाँ तथा पुराना घर छाना र बूढीनन्दा नगरपालिकाको भवन समेत चर्किएको जानकारी दिए । बाजुराका विभिन्न ठाउँमा भूकम्पले भौतिकरुपमा ठूलो क्षति गरेको र ४० भन्दा बढी भेडा बाख्रा पनि मरेको स्थानीयबासी बताएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन ।

त्यसका लागि विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गरिए पनि यकिन तथ्याङ्क प्राप्त भइनसकेको जानकारी जिल्ला प्रशासन कार्यालय बाजुरा बाजुराका पुष्कर खड्काले बताएकाछन् ।

भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कृषी ज्ञान केन्द्रको पुरानो भवन, जिल्ला अस्पताल सिमखेतको पुरानो भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालगन्जमा समेत भएको थियो । भूकम्प गएपछि नेपालगन्जका स्थानीयबासी समेत त्रसित बनेका थिए । यद्यपी बाँकेमा के कति क्षती भएको भन्ने अझैँ आइसकेको छैन । उता भारतको राजधानी दील्लीसम्म भूकम्पको महसुस भएको थियो ।