File Photo
नेपालगन्ज १९ माघ : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।
कैलाली– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।
सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाँके प्रहरी प्रमुख एसपी राठौरका अनुसार उनलाई केहीबेरमा नेपालगन्ज विमानस्थलबाट श्री एयरको जहाजबाट काठमाण्डौं लगिदैँछ । ‘भर्खरै काठमाण्डौंदेखि नेपालगन्जका लागि आएको श्री एयरलाईन्सको जहाज ल्याण्ड गरेकोछ । उक्त जहाजबाट चौधरीलाई काठमाण्डौं लगिदैछ’ एसपी राठौरले सेतोखरीलाई बताए ।
सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका चौधरी कैद सजाय भोग्न नेपालगन्जबाट काठमाण्डौं लगिन लागेको हो ।
अदालतले ६ महिना कैद सुनाए पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराएको थिएन ।
चौधरी गएको प्रतिनिधि सभा निर्वाचनमा आफैं मनोनयन दर्ता गर्नेदेखि प्रचार–प्रसारमा सहभागी थिए । तर, फरारको सूचीमा रहेका उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थिएन ।