बाँकेमा ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन शुरु

‘थारु नेताहरुलाई सरकारले विभेद गर्दै पक्राउ गर्नु दुःखद’ : मन्त्री मोदी


‘थारु नेताहरुलाई सरकारले विभेद गर्दै पक्राउ गर्नु दुःखद’ : मन्त्री मोदी

बाँके (फत्तेपुर) २० माघः थारु आन्दोलनका घटनामा परेका थारु नेताहरुलाई सरकारले विभेद गर्दै पक्राउ गर्नु दुःखद कुरा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बताएकाछन् ।

बाँकेको फत्तेपुरस्थित सहिदपार्कमा शुक्रबारदेखि सञ्चालनमा आएको ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदाय अहिले पनि विभेदमा परिरहेको बताए । थारु आन्दोलनका घटनामा परेका थारु नेताहरुलाई सरकारले विभेद गर्दै पक्राउ गर्नु दुःखद कुरा हो । आन्दोलनमा लागेकै कारण जेलमा परेका थारु नेतालाई मुक्त गराउन आफुले आवश्यक पहल गर्ने उनले बताए ।

१३ वर्ष अघि ३ भदौ २०६६ मा कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा आगजनी गरेको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले बाँकेको कोहलपुरबाट पक्राउ गरि नेपालगन्जदेखि काठमाण्डौं लगि उतैबाट धनगढी लगिएको थियो । पक्राउ गरि कारागार चलान भएका चौधरीका विषयमा केन्द्रित गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

अदालतले ६ महिना कैद सुनाए पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराएको थिएन । चौधरी गएको प्रतिनिधि सभा निर्वाचनमा आफैं मनोनयन दर्ता गर्नेदेखि प्रचार–प्रसारमा सहभागी थिए । तर, फरारको सूचीमा रहेका उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थिएन ।

थारु बाहुल्यता रहेको क्षेत्रमा थारु संग्रहालय अनिवार्य स्थापना गर्न आवश्यक रहेको र त्यसका लागि बजेट छुट्याउन आफुले पहल गर्ने मन्त्री मोदीले प्रतिवद्धता जनाए । थारु साहित्यमा कलम चलाउनेका लागि राम्रो कार्यक्रम ल्याउन आफुले पहल गर्ने मन्त्री मोदीको भनाईछ ।

सम्मेलन उद्घाटन शत्रमा लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसी ‘नमुना’, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, वरिष्ठ साहित्यकार, डाक्टर गोविन्द आचार्य, कृष्णराज सर्वाहारी, अन्य साहित्यकारहरु, स्थानीय जनप्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सो क्रममा साहित्य लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिलाई सम्मान गरिएको थियो । थारु लेखक संघ नेपाल बाँके र थारु गोचाली समाज नेपाल राप्तीसोनारीले उक्त सम्मेलन आयोजना गरेका हुन् । संघका केन्द्रिय सदस्य शेखर दहितका अनुसार शुक्रबारबाट सञ्चालनमा आएको उक्त सम्मेलन माघ २२ गतेसम्म चल्नेछ ।

सम्मेलनमा थारु भाषा, साहित्य, कला, सँस्कृती, परम्परा लगायत विषयमा छलफल र बहस हुने बताइएको छ । सम्मेलनमा सहभागी हुन पुर्वमेचीदेखी पश्चिम महाकाली सम्मका थारु अगुवा, थारु सर्जक बाँके आईपुगेका छन् ।

उनीहरुलाई राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा आश्रम, सन्तानेश्वर मन्दिर, भुवर भवानी मन्दिर लगायत क्षेत्रको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

२०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन दाङमा भएको थियो । त्यसपछि दोस्रो सम्मेलन कैलालीको धनगढीमा आयोजना गरियो । यसैगरी तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गिया, पाँचौं सुर्खेतको नयाँ गाउँ, छैठौं सम्मेलन कञ्चनपुरमा आयोजना गरिएको थियो ।

थप समाचार

राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीब्र