आरोपित वडाअध्यक्ष गौतम सम्पर्कविहीन
गुलरिया(बर्दिया) २१ माघ : बर्दियाको बाँसगढी नगरपालिकाका वडाअध्यक्ष विरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएकोछ ।
बाँसगढी नगरपालिका– ८ का वडाध्यक्ष तुलप्रसाद गौतमविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको हो । यसअघि बलात्कारको प्रयास गरेको भन्दै पीडितले दर्ता गराउन खोजेको मुद्दा रोकेको प्रहरीले शनिबार भने मुद्धा दर्ता गरेको हो ।
बाँसगढी नगरपालिका– ८ का वडाध्यक्ष गौतमले स्थानीय एक महिलालाई राति घरमा कोहि नभएको बेला बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । रातको ९ बजेतिर वडाअध्यक्ष गौतमले ती महिलालाई बलात्कारको प्रयास गरेको पीडितले निवेदनमा उल्लेख गरेको ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक सन्तोष चन्दले सेतोखरीलाई बताए । प्रहरी निरीक्षक चन्दका अनुसार ती महिलाको मेडिकल जाँच पनि गरिएको छ ।
जग्गा बिक्रिका लागी छलफल गर्ने भन्दै महिलाको घरमा पुगेका वडाअध्यक्ष गौतमले सुरुमा मदिरापान गरेको र त्यसपछि बलात्कारको प्रयास गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले बताएकोछ ।
घरका परिवार सुत्न गएका बेला वडा अध्यक्ष गौतमले महिलालाई समातेर बलात्कार गर्न खोजेपछि हल्ला गर्दा घरका अन्य सदस्यहरुले थाहा पाएका थिए ।
बलात्कारको आरोप लागेका वडाअध्यक्ष गौतम भने सम्पर्क विहिन छन् । उनलाई यसअघि पनि सेतोखरीले टेलिफोन सम्र्पक गर्दा उनको नम्बर स्विच अफ पाइएको थियो । प्रहरीले उनको खोजतलास गरिरहेको जनाएकोछ ।
वडाअध्यक्षविरुद्ध बलात्कार मुद्दा दर्ता भएपछि यता बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्क बहादुर खड्काले आफुलाई यस विषयमा केहि थाहा नभएको जानकारी दिए । उनले घटना के हो मलाई थाहा छैन भन्दै कर्कीएका थिए ।
यसअघि स्थानीयबासीका अनुसार नगरप्रमुख खड्काले मुद्दा दर्ता नगर्न प्रहरीलाई दवाव दिएका थिए ।
थप समाचार