पाचौं संस्करणको ‘टुर डी ठाकुरद्वारा’को तयारी पुरा

१०० किलोमिटरको यात्रा तय गर्न नेपाल र भारतका साइकल यात्री आउने


पाचौं संस्करणको ‘टुर डी ठाकुरद्वारा’को तयारी पुरा

नेपालगन्ज २५ माघ : प्रकृती, संस्कृती, स्वास्थ्य, खेलकुद, वातावरण र पर्यटन प्रर्बद्धनका लागि यही माघ २६, २७ र २८ गते पाँचौ संस्करणको ‘टुर डी ठाकुरद्वारा’को हुँदैछ । आयोजक नेपालन्ज साइकिलिङ क्लबले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराउँदै सम्पूर्ण तयारी पुरा भएको जनाएकोछ ।

छिमेकी मुलुक भारतका विभिन्न प्रान्तका २९ भारतीय यात्रीसहित करिब ३०० जना सहभागी हुने ‘टुर डी ठाकुरद्वारा’मा ४२ महिला साइकल यात्रीले सहभागिता जनाउने आयोजक क्लबले बताएकोछ । नेपालगन्ज साइकिलिङ क्लबका अध्यक्ष सतिश निरौलाले माघ २६ गते (भोली विहीबार) ‘नेपालगन्ज किड्स रेस’ पनि आयोजना गरिने बताए ।

उनका अनुसार उक्त प्रतियोगिता नेपालगन्जस्थित वाटरपार्कमा आयोजना हुने प्रतियोगितामा ३० जना बालबालिकाले सहभागीता जनाउँदैछन् । प्रतियोगितामा विजयी हुनेहरुलाई प्रमाणपत्र, मेडल, नगद तथा जिन्सि पुरस्कार प्रादन गरिने आयोजकले जनाएकोछ ।

टुर डी ठाकुरद्वाराका लागि माघ २६ गते बाँके बाहिरबाट आएका पहुनाहरुलाई पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गराई यहाँका अन्य पर्यटकीय स्थलको अवलोकन गराउँदै नगर परिक्रमा गराउने आयोजकले तयारी गरेकोछ । माघ २७ गते विहान ८ बजे बागेश्वरी मन्दिरबाट औपचारिक कार्यक्रम पश्चात ठाकुरद्वाराको साइकल यात्रा प्रारम्भ गरिने र करिब एक सय किलोमिटरको दुरी पुरा गरि सोही दिन साँझ साढे ५ बजे ठाकुरद्वारा पुगिने निरौलाले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

निरौलाका अनुसार ‘टुर डी ठाकुरद्वारा’मा सहभागिता जनाउन किर्तीमानी विश्व साइकल यात्री एवम् सगरमाथा आरोही पुष्कर शाह र चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्ग्वा शेर्पाले सहभागिता जनाउनेछन् ।

सोक्रममा साइकल यात्रीबीच वातावरण, प्रकृति र वन्यजन्तु संरक्षण सम्बन्धि छलफल गरिने आयोजकले बताएकोछ । यस्तै ठाकुरद्वारा मन्दिर परिसरमा विभिन्न पाँच प्रकारका विशेष विरुवाहरु रोपिने कार्यक्रम संयोजक प्रदिप सापकोटाले बताए । साइकल उत्सवमा अनुमानित कुल लागत खर्च करिव २० लाख लाग्ने आयोजकले बताएपनि करिब डेढ लाख अपुग भएको जनाएोछ ।

बाँके–बर्दियाको पर्या–पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको ‘टुर डी ठाकुरद्वारा’ले यस क्षेत्रमा भारतीय पर्यटको आगमनलाई उल्लेख्यरुपमा बढाएको साइकिलिङ क्लबका अध्यक्ष निरौलाको दावि छ ।
साइकलका माध्यमबाट पनि यहाँका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्न सकिने सन्देशले स्थानीय पर्यटन प्रर्वद्धनमा टेवा पुगेको उनले बताए ।

अध्यक्ष निरौलाका अनुसार आगामी दिनमा बाँकेको पर्यटन प्रर्बद्धनका लागि पछिल्लो समय प्रर्यटनको गन्तब्य बन्दै आएको बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर मन्दिर, बाबा बर्फानी हुँदै अगैयादेखि कोहलपुर भएर नेपालगन्जसम्मको साइकल टुरको परिकल्पना रहेको समेत सुनाए ।

टुर डी ठाकुरद्वाराका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन डिभिजन कार्यालय, बाँके र बर्दीयाका पालिका लगायतको सहकार्य र सहयोग रहेको कार्यक्रम संयोजक प्रदीप सापकोटाले बताए । नेपालगन्ज साईक्लिङ्ग क्लबका उपाध्यक्ष सुरेन्द्रदीप कार्कीले पत्रकारसम्मेलनमा धन्यबाद मन्तब्य राखेका थिए ।