डुडुवामा हात्तीपाईले आमऔषधी सेवन अभियान शुरु


डुडुवामा हात्तीपाईले आमऔषधी सेवन अभियान शुरु

डुडुवा (बाँके) १ फागुन : राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३औं आम औषधी सेवन अभियान यस वर्ष शुरु भएको छ । अभियान सफल बनाउनका लागि बाँके डुडुवा गाउँपालिकाले सोमबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ ।

कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निधारर्ण, अनुगमनको कार्यलाई प्रभावकारी बनाउने विशेष रणनीति निमार्ण गरिएको हो ।

औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निमार्ण गरिएको रणनीति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार डुडुवामा यही फागुन ११ गतेदेखि अभियान संचालन गर्न लागिएको हो ।

करिब एक हप्तासम्म सञ्चालन गरिने उक्त अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जनामहिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने छ । उचाईका आधारमा आइभर मेट्रिन, डिसी र अल्वेन्डाजोल नामक औषधी खुवाउने शाखा प्रमुख बुढाले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

ग्रामीण क्षेत्रमा अशिक्षाका कारण अधिकांस नागरिकले औषधी सेवन नगरेका कारण लक्ष्य हासिल गर्न नसकिएको हो । गतवर्ष डुडुवामा ७८ प्रतिशत नागरिकले मात्र औषधी सेवन गरेका थिए । यस वर्ष औषधी सेवनका लागि जनप्रतिनिधी, दलका प्रतिनिधी, समुदायका अगुवा, लगायतले विशेष भुमिका खेल्ने जोड दिइएको छ ।

डुडुवामा गर्भवती र सुत्करीबाहेक ४१ हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य लिएको स्वास्थ्य शाखा सहसंयोजक वीरेन्द्र घलेले बताए । उनका अनुसार दुई वर्षभन्दा माथीमा मानिसलाई यो औषधी खुवाइनेछ ।

कार्यक्रममा वडाध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य शिवकुमार जायसवाल स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।