जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु


जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

File Photo

नेपालगन्ज १२ फागुन : सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१ हजार पाँच सय आठ सवारी चालकलाई कारबाही गरिएको छ । तीमध्ये ढोका खुल्ला राखेर सवारी साधन गुडाउने मात्रै १५ हजार छ सय २९ चालक कारबाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ढोका खुला राख्दा त्यहाँबाट यात्रु खस्ने जोखिम बढी हुन्छ ।

प्राप्त विवरणानुसार साउन महिनामा दुई हजार छ सय ८३, भदौमा दुई हजार आठ सय ७३, असोजमा सात सय ४९, कात्तिकमा एक हजार आठ सय २६, मङ्सिरमा दुई हजार आठ सय २६, पुसमा दुई हजार सात सय ३४ र माघ महिनामा एक हजार नौ सय ३८ चालक काराबाहीमा परेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

ढोका खुला राख्ने धेरै भए पनि क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउँदै गरेका पाँच हजार आठ सय दुई चालकलाई पनि कारबाही गरिएको उनले बताए । त्यस्तै ७७ टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो। टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछि उनीहरूलाई कारबाही गरिएको हो ।

क्षमताभन्दा बढी यात्रु राख्दा सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डिएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरे । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६४ मा सवारी साधनमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकामा सो हदभन्दा बढी राखेर सवारी साधन चलाएमा कारबाही हुने व्यवस्था छ । -रासस