छाडा चौपायाले दुर्घटना बढ्दो
नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित सुर्खेतरोड लगायतका सडकमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभावी रहेका छाडा पशुसँग ठोक्किएर पछिल्लो समय धेरै दुर्घटना भएका छन् । तर, छाडा चौपाय नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका र ट्राफिक प्रहरीले कुनै चासो देखाएका छैनन् ।
नेपालगन्ज–कोहलपुर चारलेन सडकमा छाडा चौपायाको कारण सडक दुर्घटनाको जोखिम उच्च बढेको छ । सडक बीचभागमा छाडा चौपाया आवतजावत गर्ने र बीच सडकमै बस्ने गरेका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् ।
सवारी दुर्घटनामा सडकमा रहेका गाईगोरु पनि मर्ने गरेका छन् । रातिको समयमा छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेल बताउँछन् ।
उनका अनुसार छाडा चौपायासँग ठोक्किएर राति आठ बजेपछिको समयमा सवारी दुर्घटना हुने गरेका छन् । राती सडकमा बसेका गाईगोरु नदेखिने हुँदा सवारी दुर्घटना हुने गरेको छ । दिउँसोमा त्यति धेरै दुर्घटना हुँदैनन्, गाईगोरु चर्न जान्छन् होला सूचना अधिकारी पौडेलले भने, ‘रातिको समयमा सडकमा बस्ने हुँदा दुर्घटना हुने गरेका छन् ।’
दिउँसो सडकमा देखिने गाईगोरु लखेट्ने गरे पनि रातिमा फेरि सडकमै आएर बस्ने गरेका कारण छाडा चौपायाको कारण दुर्घटना दैनिकजसो हुने गरेको उनको भनाइ छ । छाडा चौपाया व्यवस्थापनका लागि उपमहानगरपालिका, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले पटक–पटक पहल गरे पनि नियन्त्रण हुन नसकेको उनी बताउँछन् ।
छाडा चौपाया सबैको टाउको दुखाइको विषय भएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल बताउँछन् । उपमहानगरपालिकाले व्यवस्थित काञ्जी हाउस सञ्चालनको तयारी गर्न नसकेकोले पनि यो समस्या बढेको हो ।
विगतमा उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रका छाडा चौपाया गाई, गोरु, गधा बाँके निकुञ्जभित्रको जंगलमा पु¥याए छोडिए पनि यसले दिर्घकालिन समस्या समाधान हुन नसकेको उनले बताए ।
सडकमा उभिएका र दौडिरहेका पशुचौपायाले पैदल यात्री र सवारी चालकको सातोपुत्लो लिने गरेका छन् । सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरु, खच्चरले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ । बूढा पशुचौपाया गाई, गोरु र खच्चर सडकमा ल्याएर छोड्ने र गाडीको ठक्करबाट मार्ने संस्कार बढेको नागरिक अगुवा कृष्ण श्रेष्ठ बताउँछन् ।
उपमहानगरपालिका कार्यालयअगाडि विपीचोक क्षेत्रमै चौबिसै घण्टा छाडा चौपाया देखिने गरेका छन् । चारलेन सडकको व्यस्त चोक चौराहमा छाडा चौपाया बस्नाले दुर्घटना बढी हुने गरेको उनको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको भर्खरै जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक पवीन्द्र बम छाडा चौपायाले सडक व्यवस्थापन र ट्राफिक सहजतामा बाधा पु¥याएकाले यो विषयमा चनाखो भएर लाग्ने बताउँछन् ।
उपमहानगरपालिका र कोहलपुर नगरपालिकासँग समन्वय र सहकार्यमा छाडा पशु नियन्त्रणको अभियान नै थाल्ने उनी बताउँछन् । सडक दुर्घटनामा बाँकेमा एक वर्षको अवधिमा ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा दुई वटा चौपायाको मृत्यु र एक घाइते भएको समेत ट्राफिकको प्रतिवेदनमा उल्लेख छ ।
ट्राफिकको तथ्यांकअनुसार बाँकेमा हरेक साता सरदर दुई वटा सडक दुर्घटना हुने गरेको छ । दुर्घटनामा प्रत्येक साता एक जनाको मृत्यु र तीन जना गम्भीर घाइते हुने गरेका छन् । गत आव २०७५/७६ मा छाडा चौपायासँग ठोक्किएर भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांकले देखाएको छ ।