भेरी अस्पतालमा एन्टिरेबिज भ्याक्सिन अभाव


भेरी अस्पतालमा एन्टिरेबिज भ्याक्सिन अभाव

नेपालगन्ज : भेरी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव भएको छ । एन्टिरेबिज भ्याक्सिन अभावले बिरामी प्रभावित भएका छन् । शंकास्पद जनावरले टोकेपश्चात् हुन सक्ने मृत्यु हटाउन यो भ्याक्सिन लगाउने गरिन्छ । अस्पतालमा दैनिक १० देखि १५ जना यस्ता बिरामी आउने गरेका छन् ।

अस्पतालमा आउने बिरामी बढे पनि भ्याक्सिनको मात्रा नबढाउँदा समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रुपानन्द अधिकारी बताउँछन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य सेवा विभाग र क्षेत्रीय मेडिकल स्टोरले भ्याक्सिन सप्लाईमा कोटा प्रणाली लगाउँदा सेवा प्रभावित भएको हो ।

स्वास्थ्य सेवा विभागले भ्याक्सिन पठाउन ढिलाइ गर्दा अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अधिकारी बताउँछन् । साउनको शुरुवातदेखिनै अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएको उनले जानकारी दिए ।

भ्याक्सिन बोक्ने एसीसहितको भ्यान बिग्रिएकाले पनि भ्याक्सिन ल्याउन ढिलाइ भएको भन्दै डाक्टर अधिकारीले केही दिनभित्रै सेवा उपलब्ध हुने बताए ।
एन्टिरेबिज भ्याक्सिन एक जना बिरामीलाई पाँच पटक दिनुपर्छ । यसका लागि अस्पताललाई मासिक १५ सयदेखि दुई हजार भायल एन्टिरेबिज भ्याक्सिन आवश्यक पर्छ । यसअघि एकैपटक आपूर्ति हुँदै आएकोमा पछिल्लो समय सीमित मात्रामा आपूर्ति भएको अस्पतालले बताएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कुकुर, बाँदर, स्याललगायत जनावरको टोकाइबाट लाग्ने प्राणघातक रोग रेबिजको भ्याक्सिन अभाव हुँदा आमनागरिक समस्यामा परेका छन् । समयमा भ्याक्सिन लगाउनेबाहेक रेबिज लागिसकेपछि मृत्यु टार्न सक्ने उपचारपद्धतिको विकास हालसम्म चिकित्साविज्ञानले गर्न सकेको छैन ।

यस्तो संवेदनशील र निर्विकल्प भ्याक्सिनको अभाव भएमा आकस्मिक रूपमा भवितव्यमा पर्ने जनावरको टोकाइका बिरामीको जीवनसँग खेलबाड हुने निश्चित भएको सेवाग्राही गोपाल खत्री बताउँछन् ।

अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै आएपनि अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बाहिरको क्लिनिकमा गएर भ्याक्सिन लगाएको राप्तीसोनारी गाउँपालिका–६ टेपरीका श्याम थारुले बताए ।

रेबिजको भ्याक्सिन बजेट अभावका कारण भेरीमा मात्र नभई देशभरमै अपुग हुन थालेको स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमिओलोजी तथा रोगनियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कतिपय बिरामीले निजीस्तरमा भ्याक्सिन किनेर समेत प्रयोग गरिरहेका छन् ।

मानिसलाई कुकुर, स्याल, बाँदरलगायत जनावरले टोकेमा रेबिज र सर्पले टोकेमा सर्पदंशविरुद्धको भ्याक्सिन तुरुन्त लगाउनुपर्ने हुन्छ । यी अवस्थामा समयमै सम्बन्धित रोगविरुद्धका भ्याक्सिन लगाउन नसकिएमा बिरामीको मुत्यु हुन्छ ।

तर, यहाँ यी दुवै रोगविरुद्धका भ्याक्सिनको उत्पादन हुँदैन । सरकारले भारतबाट वार्षिक करिब तीन लाख रेबिजविरुद्धको भ्याक्सिन र करिब ३५ हजार सर्पदंशविरुद्धको भ्याक्सिन खरिद गर्ने गरेको महाशाखाको तथ्यांक छ ।